अस्ट्रेलियामा बर्डफ्लुले अन्डा आपूर्ति रोकिएपछि म्याकडोनल्डको ब्रेकफस्ट बन्द



एजेन्सी । अष्ट्रेलियामा बर्डफ्लुको प्रकोपका कारण अन्डाको आपूर्ति कम भएपछि म्याकडोनल्ड रेस्टुरेन्टहरुले आफ्नो ब्रेकफास्ट (नास्ता)को सेवामा कटौती गरेका छन् ।

फास्ट फुड विक्रीमा विश्वव्यापी प्रभाव जमाइरहेको म्याकडोनल्डले अन्डा सुरक्षित राख्ने सम्बन्धमा अहिले देखिएको चुनौतीका कारण यही साता अनिश्चित समयका लागि नास्ताको सेवालाई स्थगित गरिएको घोषणा गरेको हो ।

जसअनुसार हरेक बिहान १०:३० बजेदेखि बिक्री गर्दै आएको नास्ता कम्पनीले रोकेको हो । तर यो अवस्थालाई सामान्य रुपमा अगाडि बढाउन म्याकडोनल्डले आफ्ना अस्ट्रेलियन किसान र आपूर्तिकर्ताहरुसँग मिलेर कडा मिहेनत गरिरहेको पनि उल्लेख गरेको छ ।

“जुलाई २ मंगलबारदेखि हामीले अन्डाको उपयोग रोकेका छौं । तपाइँहरु घडी हेरिराख्नु । तर यो अवस्थालाई सामान्य बनाउन हामी अस्ट्रेलियाका किसान र आपूर्तिकर्ताहरुसँग मिलेर कडा मिहेनत गरिरहेका छौं,” म्याकडोनल्ड अस्ट्रेलियाले आफ्नो फेसबुक पेजमा लेखेको छ । अस्ट्रेलियन अधिकारीहरुले देशभरका ११ वटा पोल्ट्री फार्ममा मे महिनादेखि एच सेभेन इन्फ्लुएन्जा भेटिएको बताएका छन् ।

अधिकारीहरुले बर्ड फ्लु प्रकोप सुरु भएको भिक्टोरिया राज्यमा १० लाखभन्दा धेरै पंक्षीहरुलाई मार्न आदेश दिएका छन् । जवकि छिमेकी न्यु साउथ वेल्समा पनि अरु लाखौं पंक्षीहरु मार्न आदेश दिइएको छ । बर्डफ्लुको प्रकोपले अस्ट्रेलियाका लगभग २ करोड अन्डा दिने कुखुराहरुमध्ये केलव १० प्रतिशत कुखुरा प्रभावित भएका छन् । यसैकारण अधिकारीहरुले खुद्रा तथा हस्पिटालिटी क्षेत्रमा आपूर्तिमा स्थानीय व्यवधान भएको सूचना दिएका छन् ।

अस्ट्रेलियन अधिकारीहरुले उपभोक्ताहरुलाई आफ्नो आवश्यकता भन्दा बढी अन्डा खरिद नगर्न पनि आग्रह गर्दै आएका छन् । त्यहाँका अरु दुई चेन सुपरमार्केटले भने धेरै पसलमा प्रतिग्राहक दुई कार्टुन अन्डा मात्रै उपलब्ध गराउँदै आएको छ ।

अस्ट्रेलियन एग्जका अनुसार यो सेवा अर्को सातासम्म मात्रै बन्द हुनसक्ने र व्यवसाय सामान्य अवस्थामा फर्किनसक्ने बताएका छन् । अस्ट्रेलियामा २ करोडभन्दा धेरै कुखुरा पालिएका छन् । तर रोकिएको सेवा छिट्टै सञ्चालन हुने अस्ट्रेलियन एग्जका प्रबन्ध निर्देशक रोवान म्याकमन्नीजले बताए ।


क्लिकमान्डु