महामन्त्री मुकुलको प्रश्न: गोर्खा मिडियामा जीबी र पार्टीमा मेरो गल्ती, रविको पदले कहिले गल्ती गर्दैन ?



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को विवाद उत्कर्षमा पुगेको छ । रास्वपा महामन्त्री मुकुल ढकालले पार्टी बैठकमा आफूलाई ह्यारेस गरिएको बताए ।

बुधाबर बिहानबाट सुरु भएको रास्वपाको बैठकको लाइभ नगरेको भन्दै कालोटप लगाएर बैठकमा बसेका ढकाल केही समयअघि बैठकस्थलबाट बाहिरिएका थिए।

बैठकको अन्तिममा महामन्त्री ढकाललाई जवाफ दिन केन्द्रीय समितिमा माग भएको थियो तर उनी भने आफूमाथि अभद्र व्यवहार भएको भन्दै केन्द्रीय कार्यालयबाट बाहिरिएका छन् ।

बैठकमा महामन्त्री ढकालले केही दिन पहिले सभापति लामिछानेलाई बुझाएको प्रतिवेदनमाथि छलफल भएको थियो । छलफलका क्रममा महामन्त्री ढकालको चर्को आलोचना भएको थियो ।

तर ढकालले भने पार्टी सुधारका लागि पहल गर्दा समस्या सिर्जना गरिएको बताए । उनले गोर्खा मिडियामा जीबी राई र पार्टीमा मेरो गल्ती हुने तर रविको पदले कहिल्यै गल्ती गर्दै भन्दै प्रश्न गरे ।

‘पार्टी महामन्त्रीलाई सबै दोष थुपार्दै गर्दाखेरि सभापतिको नैतिक उत्तर के हुन्छ ?,’ ढकालले भने, ‘गोर्खा मिडिया नेटवर्कमा महामन्त्रीको पोजिसनमा हुनुहुन्थ्यो (प्रबन्ध निर्देशक रवि लामिछाने) त्यहाँ चाहिँ सभापति अर्थात् अध्यक्ष जिबी राई गल्ती ? निर्णय सबै थाहा हुन्छ र पार्टी सभापति हुनुहुन्छ अनि महामन्त्रीको गल्ती ? उहाँ जुन पदमा हुनुहुन्छ त्यो पदले कहिले गल्ती गर्दैन भन्ने हुन्छ ?’

उनले बैठकमा आफूलाई जबरजस्ति बोल्न कर गरेर ह्यारेसमेन्ट गरिएको बताए ।

पार्टीका उपसभापतिहरू डीपी अर्याल र स्वर्णिम वाग्लेले बैठकमै महामन्त्रीमा आफूलाई नमान्ने घोषणा गरेको भन्दै ढकालले असन्तुष्टि जनाए ।

‘उहाँहरुले मलाई ह्यारेसमेन्ट गर्नुभयो । दुईजना उपसभापतिले आजबाट महामन्त्री मान्दैनौं भन्नुभयो । मैले बोल्दिनँ भन्दा बोल कि बोल भनियो । एउटा राजनीतिक प्राणीको रुपमा मैले विरोध जनाएको हो । बोल कि बोल भन्न पाईंदैन । राजनीतिक तरिकाले बुझ्नुपर्छ । एउटा व्यक्ति जसले गलत कुराको विरोध गर्यो, त्यसलाई कारवाहीको प्रक्रिया अगाडि बढाइन्छ भने अब पार्टी प्रतिपक्ष बन्दैछ, कुन नैतिकताका आधारमा सरकारको विरोध गर्छ ? कुन नैतिकताको आधारमा प्रतिपक्षमा बस्छ ? मलाई पार्टीको चिन्ता छ ।’

ढकालले नेपाल प्रहरीको सरुवा र बढुवामा गृहमन्त्री रवि लामिछानेले प्रहरी महानिरीक्षक बसन्त कुँवरलाई डमी बनाउने गरेको आरोप लगाए ।

‘एआईजी बढुवा गर्दा एकदिनको बढुवा गर्दा आइजी थुपार्नुभएको छ । डीएसपीदेखि साराको बढुवामा आईजीलाई डमी आईजीको रुपमा प्रयोग गर्नुभएको छ,’ ढकालले सञ्चारकर्मीसँग भने ।

उनले रविको चरित्रबारे बुझ्न आईजीपी र गृहसचिवलाई सोध्न आग्रह गरे ।

‘नेपाल सरकारका दुईजना आईजीपी हुनुहुन्छ । गृहसचिव एकनारायण अर्याल हुनुहन्छ । त्यो भन्दा अगाडि उहाँसँग मेरै तहमा काम गरेका व्यक्ति हुनुहुन्छ । उहाँको काम गर्ने चरित्रबारे तपाईंहरूले बुझ्नुपर्‍यो,’ उनले भने ।


क्लिकमान्डु