बीमा रकम लुकाउन सुन व्यवसायीले आफ्नो पसल लुटिएको अभिनय गरेपछि…



चितवन । बीमा रकमको लोभमा आफ्नै पसल लुटपाट भएको अभिनय गर्ने पसल सञ्चालकसहित पाँच जना पक्राउ परेका छन् । यही असार १ गते साँझ चितवनको कालिका नगरपालिका-६ खोलेसिमलस्थित विनोद सुनचाँदी पसलमा लुटपाट गरेको आरोपमा पसलका सञ्चालकसहित पाँच जना मंगलबार पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालयले दिएको जानकारीअनुसार पक्राउ पर्नेमा विनोद सुनचाँदी पसलका सञ्चालक कालिका नगरपालिका–६ का ३५ वर्षीय विनोद सुनार, चोरी गर्न सहयोग गर्ने पसलका व्यवस्थापक कालिका नगरपालिका-७ का २५ वर्षीय विजय विश्वकर्मा, चोरी गर्ने म्याग्दी गाउँपालिका-७ का ५० वर्षीय पूर्णबहादुर विश्वकर्मा र बारागढी नगरपालिका-४ का १८ वर्षीय पवनकुमार पासवान एवं चोरी भएको सामान लुकाउन सहयोग गर्ने कालिका –६ का ४२ वर्षीय अञ्जना पुडासैनी केसी रहेका छन् ।

लुटपाटको मुख्य योजनाकार पसल सञ्चालक, चोरी गर्न सहयोग गर्ने र सामान लुकाउन सहयोग गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । केन्द्रीय अनुसन्धान ब्यूरोरोको सहयोगमा उनीहरुलाई पक्राउ गरिएको हो ।

पसल सञ्चालक विनोद स्वयंले झुटा चोरी तथा लुटपाट गर्ने योजना बनाई बीमा रकम ठगी तथा विभिन्न व्यक्तिबाट लिएको ऋण रकम चोरी भएको देखाइ जालसाजी गरी फाइदा लिने मनसायले लुटपाट गर्न लगाएको अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक भावेष रिमालले बताए । बीमा दाबी गर्नका लागि पसल सञ्चालक आफैँले घटना गराएको प्रारम्भिक अनुसन्धानबाट खुलेको भन्दै उनले मोटरसाइकलमा चोरी गर्न आउने व्यक्तिलाई प्रलोभनमा पारेर घटना गराएको अनुसन्धानमा खुलेको बताए ।

धारिलो हतियार खुकुरी र चक्कु घाँटीमा राखी डरत्रास देखाइ पसलबाट दुई करोड १७ लाख ५४ हजार चार सय १५ रुपैयाँ बराबरको सुनचाँदीका गहना चोरी भएको भन्दै सुन पसले विनोदले प्रहरी समक्ष दाबी गरेका थिए । चोरी भएको सुनको गुणस्तर परीक्षण हुन बाँकी छ । पक्राउ परेका व्यक्तिमाथि थप अनुसन्धान गर्न प्रहरीले चितवन जिल्ला अदालतबाट ६ दिनको म्याद लिएको छ ।


क्लिकमान्डु