कांग्रेस-एमाले मिलेर सरकार बनाउने नयाँ सहमति, ओली र देउवा आलोपालो प्रधानमन्त्री



सुरुमा केपी ओली र त्यसको डेढ वर्षपछि शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने सहमति

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र सत्ता गठबन्धनको प्रमुख दल नेकपा एमालेले नयाँ सरकार गठनको तयारी गरेका छन् । दुबै दलका शीर्ष नेताहरुबीच सोमबार राति यस्तो सहमति बनेको हो ।

नयाँ सहमति अनुसार एमाले अध्यक्ष केपी ओली नेतृत्वमा नयाँ सरकार बन्ने र त्यसको डेढ वर्षपछि कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने शीर्ष नेताहरु निकट स्रोतले बताएका छन् ।

एमालेले अर्थ मन्त्रालय र कांग्रेसले गृह मन्त्रालयसहित मन्त्रालय पाउने सहमति दुई दलबीच भएको छ । यस्तै पूर्वप्रधानन्यायाधीशको अध्यक्षतामा संविधान संशोधन सुझाव समिति बनाउने पनि सहमतिमा उल्लेख छ ।

यसैगरी कोशी,लुम्बिनी र कर्णाली प्रदेशमा एमालेको मुख्यमन्त्री बनाउने सहमति भएको छ भने कांग्रेसले बाग्मती,गण्डकी र सुदूपश्चिम प्रदेशको नेतृत्व गर्ने सहमति भएको छ ।

मधेस प्रदेशको नेतृत्व भने मधेस केन्द्रित दलहरुलाई दिने पनि सहमतिमा उल्लेख छ । यसैबीच संविधानसँगै निर्वाचन प्रणाली संशोध गर्ने पनि सहमति बनेको बुझिएको छ ।

यद्यपि सोमबार साँझसम्म प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो क्याबिनेटका मन्त्रीहरुलाई ढुक्क भएर काम गर्न निर्देशन दिँदै एमालेसँगको गठबन्धन अहिले नै भंग नहुने बताएका थिए । यसअघि बालुवाटारस्थित प्रधानमन्त्री निवासमा प्रधानमन्त्री प्रचण्ड र ओलीबीच संक्रमणकालीन मुद्दा टुग्याउनेबारे तिक्तता देखिएपछि त्यसको भोलिपल्ट नै कांग्रस सभापति देउवा ओलीलाई भेट्न बालकोट पुगेका थिए ।

त्यसपछिका दिनमा ओलीले प्रधानमन्त्रीसँग कम्तीमा ३ पटक भेटवार्ता गरिसकेका छन् । यही सत्ता समीकरण फेरबदको विषयलाई लिएर सोमबार साँझ नै कांग्रेसको पनि बैठक बसेको थियो ।


क्लिकमान्डु