महाधिवेशनमा ओलीलाई बोलाउन माधव नेपालले गरे पटक पटक फोन, तर…



काठमाडौं । नेकपा (एकीकृत समाजवादी)अध्यक्ष माधवकुमार नेपालले पार्टीको महाधिवेशन उद्घाटनमा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली नआएकामा असन्तुष्टि व्यक्त गरेका छन् ।

आइतबार काठमाडौं कमलादीस्थित नेपाल प्रज्ञाप्रतिष्ठानमा पार्टीको १० औं महाधिवेशन उद्घाटन गर्दै पटक-पटक फोन गर्दा पनि ओलीसँग सम्पर्क हुन नसकेको अध्यक्ष नेपालले बताए ।

धेरैमा महाधिवेशनको उद्घाटनमा एमाले किन नआएको होला भन्ने जिज्ञासा भएको भन्दै अध्यक्ष नेपालले ओलीका पीएलाई पटकपटक फोन गरे पनि सम्पर्क हुन नसकेको बताए ।

‘एमाले किन आएन भन्ने जिज्ञासा होला, फोन गरेको छु, फोन लागेन । पीएलाई पटक–पटक फोन गरेको छु, मेसेज गरेको छु । पाएको सूचना आएको थियो,’ नेपालले भने, ‘भर्खर तीन वर्ष भएर होला, आलो घाउ पचाउन गाह्रो भएको होला।’

अध्यक्ष नेपालले एमालेमा विद्रोह नगरेको भए आफूहरू राजनीतिबाट पलायन हुनुपर्ने अवस्था आउने दाबी गरे ।

‘विद्रोह नगरेको भए समाप्त हुने थियौँ । कि त राजनीतिबाट पलायन हुनुपर्थ्यो कि आत्मसमर्पण गरेर बस्नुपर्थ्यो,’ नेपालले भने ।

कम्युनिस्ट पार्टी मिलाउन मूल नेतृत्वले पहल गर्नुपर्ने उनको भनाइ छ । उनले समाजवादी मोर्चामा एमाले सहभागी हुन तयार नभएको भन्दै अध्यक्ष नेपालले मोर्चा बलियो भएपछि भूमिका खेल्ने बताए ।

एकीकृत समाजवादीको आजबाट सुरु महाधिवेशनको उद्घाटन सत्रमा नेपाली कांग्रेसका सभापित शेरबहादुर देउवा, एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, जनमत पार्टीका अध्यक्ष सीके राउत, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव, जनता समाजवादी पार्टीका अध्यक्ष अशोक राई, नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ, नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव लगायतका नेताहरु सहभागी भए पनि एमालेबाट भने कोही सहभागी भएनन् ।


क्लिकमान्डु