चित्रबहादुर केसीको माग: एमसीसी र बीआरआईबीचको अन्तर जनतालाई स्पष्ट पार्नुपर्छ



‘नेपालीको टाउकोमा २४ खर्ब ऋण लागेको बीआरआईको पैसाले हो ? यसमा स्पष्ट पार्नुपर्छ । एमसीसी र बीआरआईलाई एउटै काँटामा राखेर नेपाली जनतालाई अल्मल्याउन पाइँदैन । अमेरिकाले चीनसँगको प्रतिस्पर्धामा नेपाललाई उपयोग गर्न एमसीसी बोकाएको होइन ? यो कुरा बुझ्दैनौँ हामीले ?’

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले बीआरआई र एमसीसी परियोजना बीचको अन्तर स्पष्ट पार्न माग गरेका छन् ।

बिहीबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै अध्यक्ष केसीले बीआरआईलाई स्वीकार गरियो भने नेपाल ऋणमा डुब्छ भन्ने भाष्य केही नेताहरुले स्थापित गर्न खोजेको भन्दै त्यसको विरोध गरेका हुन् । उनले नेपालमा बीआरआई परियोजनाको विरोध गरेर एमसीसी परियोजनालाई बलियो बनाउन लागिएको भन्दै त्यस कुराप्रति नेपाली जनता सजग हुनुपर्ने बताए ।

अमेरिकाले चीनविरोधी अखडा नेपाललाई बनाउनका लागि एमसीसी परियोजना ल्याएको उनको जिकिर थियो । साथै बीआरआई परियोजना र एमसीसी परियोजनालाई एकै ठाउँमा राखेर तुलना गर्नु नहुने पनि सांसद केसीको तर्क थियो ।

‘अहिलेकै सत्ताधारी साथीहरुले एमसीसी ल्याउँदाखेरि, अमेरिकनहरुले एमसीसीको भारी बोकाउँदाखेरि धुन्धान विरोध गरेको होइन ? हामी सत्तामा बस्ने छैनौँ । हामी राजनीति गर्ने छैनौँ भनेर नेपाली जनताको अगाडि उफ्रेको होइन ? आखिरी कथित १२ बुँदेको जामा लगाएर, १२ बुँदेबाट एमसीसीबाट नेपाल राष्ट्रलाई पर्ने असरबाट १२ बुँदेले चोख्यायो भनेर छलकपट गरेर, षड्यन्त्र गरेर, अमेरिकी साम्राज्यवादको पासो नेपाली जनतालाई बोकाएको हो कि होइन ?’ सांसद केसीले भने ।

उनले एमसीसी र बीआरआईबीचको अन्तरबारे नेपाली जनतालाई स्पष्ट पार्नुपर्ने भन्दै एमसीसीको पक्षमा नेपाललाई दुर्घटनामा पार्ने र नेपाललाई चीन विरोधी अखडा गराउने अमेरिकाको षड्यन्त्रमा नेपाली जनता सजग हुनुपर्ने केसीको जिकिर थियो ।

उनले भनेका छन्, ‘नेपालीको टाउकोमा २४ खर्ब ऋण लागेको बीआरआईको पैसाले हो ? यसमा स्पष्ट पार्नुपर्छ । बीआरआईको माध्यमबाट नेपालमा जसरी चीन आउन खोजेको छ, एमसीसी र बीआरआईलाई एउटै काँटामा राखेर नेपाली जनतालाई अल्मल्याउन पाइँदैन । चीनसँग सैद्धान्तिक, राजनीतिक रुपमा हाम्रो पनि केही असहमती छ । नेपालको सन्दर्भमा यदि त्यो बीआरआईको ऋण चर्को हो भने यतिबेला एमसीसीलाई बलियो बनाउँदै लाने । अमेरिकाले चीनसँगको प्रतिस्पर्धामा नेपाललाई उपयोग गर्नका लागि एमसीसी बोकाएको होइन ? यो कुरा बुझ्दैनौँ हामीले ? त्यसकारणले देशको राष्ट्रियता, सार्वभौमिकता र अखण्डतामाथि सौदाबाजी गरेर सत्ताधारीहरुले जुनखालको राष्ट्रघात गरिराखेका छन् ।’


क्लिकमान्डु