कार्णाली प्रदेशमा निक्षेप ५.४२ प्रतिशतले बढ्दा कर्जा प्रवाह २०.५० प्रतिशतले घट्यो



काठमाडौं । चालु आर्थिक वर्षको पुस मसान्तसम्म कर्णाली प्रदेशमा बैंक तथा वित्तीय संस्थाहरुले संकलन गरेको निक्षेप बढेको छ भने कर्जाको माग घटेको छ ।

गत आवको सोही अवधिको तुलनामा चालु आवको सोही अवधिमा निक्षेप ५.४२ प्रतिशतले बढेर ६५ अर्ब ९८ करोड ४७ लाख पुगेको छ ।

गत आवको सोही अवधिमा निक्षेप २७.३० प्रतिशतले वृद्धि भई ६२ अर्ब ५९ करोड २४ लाख पुगेको थियो । यो अवधिमा कर्णाली प्रदेशमा बढेको रेमिट्यान्स आप्रवाह, बैङ्किङ सेवामा आएको विस्तार तथा सर्वसाधारणको बचत गर्ने बानीमा आएको विकासले निक्षेपमा वृद्धि भएको राष्ट्र बैंकले जनाएको छ ।

यो अवधिमा कर्णाली प्रदेशमा प्रवाह भएको कुल कर्जा २०.५० प्रतिशतले कमी आई ४७ अर्ब ३० करोड ५७ लाख कायम भएको छ । गत आवको सोही अवधिमा कर्जा प्रवाह ६.७२ प्रतिशतले बढेर ५९ अर्ब ५० करोड १३ लाख पुगेको थियो ।

यो अवधिमा प्रदेशको कर्जा तथा निक्षेप अनुपात ७१.६९ प्रतिशत रहेको छ । उक्त अनुपात गत आवको सोही अवधिमा ९५.०६ प्रतिशत रहेको थियो ।

राष्ट्र बैंकको तथ्याङ्क अनुसार यो अवधिमा कर्णाली प्रदेशमा संकलित निक्षेप तथा प्रवाहित कर्जाको विश्लेषण गर्दा सुर्खेत जिल्ला सबैभन्दा अगाडि रहेको छ । यो जिल्लामा ३० अर्ब ६१ करोड ५४ लाख निक्षेप संकलन भएको छ ।

सोही अवधिमा २७ अर्ब २३ करोड ४४ लाख कर्जा प्रवाहित भएको छ । त्यस्तै सबैभन्दा कम निक्षेप संकलन डोल्पा जिल्लामा ५० करोड ९३ लाख भएको छ भने मुगु जिल्लामा सबैभन्दा कम २ अर्ब ८ लाख कर्जा प्रवाह भएको छ ।


क्लिकमान्डु