चिनियाँ ईभीलाई भन्सार शुल्क लगाउने तयारी गर्दै क्यानडा



क्यानडाकी उपप्रधान एवं अर्थमन्त्री क्रिस्टिया फ्रिल्यान्डले भनेकी छन्- ‘चीनका कारण क्यानडाको घरेलु कार उद्योगले अनुचित प्रतिस्पर्धाको सामना गर्नु परेको छ ।’

एजेन्सी । क्यानडाले चिनियाँ विद्युतीय सवारीसाधनहरु (ईभी)मा भन्सार शुल्क लगाउने विषयमा छलफल गरिरहेको छ । यसबारे क्यानेडियन सरकारले आम नागरिकहरुको परामर्श मागिरहेको उपप्रधानमन्त्री एवं अर्थमन्त्री क्रिस्टिया फ्रिल्यान्डले बताएकी छन् ।

सोमबार फ्रिल्यान्डले घरेलु कार उद्योगले अनुचित प्रतिस्पर्धाको सामना गरिरहेको भन्दै भन्सार शुल्क लगाउने विषयमा आफूहरु छलफलमा रहेको बताएकी हुन् ।

चीनको अधिक क्षमताको राज्य निर्देशित नीतिका कारण क्यानडाको घरेलु कार उद्योगले चुनौती सामना गरेको उनको गुनासो छ । चिनियाँ सवारीमा भन्सार शुल्क लगाउने विषयमा जुलाइ २ मा ३० दिनको सार्वजनिक परामर्श खुलाउने बताइएको छ ।

‘चिनियाँ उत्पादकहरूले जानाजान विश्वव्यापी रुपमा आवश्यकभन्दा धेरै उत्पादन र सप्लाइ गरिराखेका छन् । यसले क्यानडालगायत विश्वभरका ईभी उत्पादकहरूलाई कमजोर बनाउँछ,’ फ्रिल्यान्डले भनेकी छन् । चीनको यस्तो प्रवृत्तिप्रति अमेरिका र युरोपियन युनियनले पनि चासो देखाइरहेको उनको भनाइ छ ।

भन्सार शुल्क लगाउने विषयमा सार्वजनिक परामर्शले सरकारलाई निर्णयमा पुग्न सहज हुने पनि फ्रिल्यान्डले बताइन् । साथै भन्सार शुल्क लगाउने विषयले क्यानडालाई पनि अमेरिका र जर्मनीको पंक्तिमा उभ्याउने उनले बताइन् ।

युरोपका २७ देशहरको व्यापार नीतिको निरीक्षण गर्ने युरोपियन कमिसनले चिनियाँ ईभी बीवाईडी, गिली र एसएआईसी साथै चीनमा बनेको टेस्ला र बीएमडब्लु कारहरुमा ३८.१ प्रतिशतसम्म भन्सार शुल्क लगाउने तयारी गरिरहेका छन् । यससँगै क्यानडाले पनि चीनलाई व्यापारिक रुपमा दबाब दिने तयारी गरेको हो ।

विश्वको दोस्रो ठूलो अर्थतन्त्र भएको चीन भने पछिल्लो समय सबैभन्दा धेरै ईभी उत्पादन तथा निर्यात गर्ने देश हो । सबैभन्दा धेरै कार उत्पादन र विक्री गर्ने अरु पाँच देशकोभन्दा धेरै कार चीन एक्लैले गर्छ । पछिल्लो समय विद्युतीय कारको बजारमा राम्रो प्रभाव जमाइरहेको चीनको व्यापार अमेरिका र युरोपका कार निर्माताहरुका लागि ठूलो चुनौती बनिरहेको छ ।


क्लिकमान्डु