सबै मिलेर अघि बढेमात्रै देश समृद्ध बन्छः देउवा



काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सबै मिलेर अघि बढेमात्रै देश समृद्ध बन्ने बताएका छन् ।

मंगलबार काठमाडौंमा आयोजित नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको महाधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । नेता देउवाले नेपालका हरेक आन्दोलनमा आदिवासी जनजातिको योगदान महत्वपूर्ण रहेको भन्दै सबै मिलेर अघि बढ्नुपर्ने बताए । सबै आपसमा एक भएर राष्ट्रलाई ठूलो योगदान दिनुपर्ने उनको भनाइ थियो । यस्तै उनले आदिवासी जनजातिहरु एक भएर देश, पार्टी र आफ्ना हक अधिकारहरु पनि संरक्षण गर्न सकिने पनि बताए ।

‘नेपाल अहिले आदिवासी जनजातिको समाज छ । दाजुभाईहरु हुनुहुन्छ । अत्यन्तै महत्वपूर्ण योगदान दिनुभएको छ । त्यसकारण तपाईंहरु सबै आपसमा एक भएर यो राष्ट्रलाई ठूलो योगदान दिन सक्नुहुन्छ । भोलिका दिनमा आफ्नो हक अधिकारका लागि पनि लड्दै जानुस् । साथसाथै कांग्रेस पार्टीलाई पनि मजबुत पार्नुस् । यो राष्ट्रलाई पनि बलियो पार्दै जानुस् । त्यो भएको खण्डमा हाम्रो राष्ट्र, पार्टी मजबुत हुन्छ । तपाईंहरु आदिवासी, जनजाति दिदिबहिनीहरुको अधिकार पनि संरक्षण हुन्छ । आपसमा मिलेर जाने हो, आपसमा झगडा गर्ने होइन । छलफल गरेर उहाँहरुका मागहरु पूरा हुनेछन् । म पनि यसमा लाग्ने विश्वास दिलाउन चाहन्छु,’ सभापति देउवाले भने ।

यस्तै सभापति देउवाले आदिवासी, जनजातिका मागहरु सम्बोधन गर्न आफू लागिपर्ने प्रतिबद्धता जनाएका थिए ।


क्लिकमान्डु