बजेटले आर्थिक विकासको नयाँ चरण घोषणा गरेको छः प्रधानमन्त्री दाहाल



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारले प्रस्तुत गरेको बजेट तुलनात्मक रुपमा सन्तुलित, समन्यायिक र नतिजामुलक रहेको बताएका छन् ।

मंगलाबार प्रतिनिधिसभा बैठकमा आर्थिक वर्ष २०८१/८२ को विनियोजन विधेयकका शीर्षकमाथि उठेका प्रश्नहरूको जवाफ दिँदै उनले यस्तो बताएका हुन् । उनले बजेटले आर्थिक विकासको नयाँ चरणको घोषणा गर्दै तिब्रतर विकासमार्फत आर्थिक, सामाजिक, भौगौलिक विषमतालाई अन्त्य गरी सुशासन, सामाजिक न्याय र समृद्धि हासिल गर्ने लक्ष्य राखेको बताए ।

सोही अनुरुप श्रोत र साधनबाट वञ्चित र मानव विकास सूचकांकमा पछाडि परेका कर्णाली, मधेस, सुदूरपश्चिम लगायतका क्षेत्रमा प्रदेशको विशिष्टताका आधारमा रुपान्तरणकारी, ठूला, राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना अघि सार्दै आवश्यक बजेट विनियोजन गरिएको प्रधानमन्त्री दाहालले बताए । उनले प्रदेशगत विनियोजनको तथ्यांक हेर्दा कर्णाली मधेश प्रदेशलगायतका भौगौलिक क्षेत्रहरूमा तुलनात्मकरुपमा पर्याप्त बजेट विनियोजन भएको बताए ।

‘विनियोजन विधेयकअन्तर्गत विभिन्न शीर्षकमाथिको छलफलका क्रममा माननीय ज्युहरूले आगामी आर्थिक वर्षको वार्षिक बजेट तथा कार्यक्रमको विनियोजनबारे समेत प्रश्न उठाउनुभएको छ । मैले यसअघि सम्मानित संसदमा सम्बोधनका क्रममा नै बजेट तर्जुमा प्रक्रियामा अपेक्षित रुपान्तरण हुन नसकेको कुरा राखिसकेको छु । तरपनि सरकारले प्रस्तुत गरेको बजेट तुलनात्मक रुपमा सन्तुलित, समन्यायिक र नतिजामुलक छ । बजेटले आर्थिक विकासको नयाँ चरणको घोषणा गर्दै तिब्रतर विकासमार्फत आर्थिक, सामाजिक, भौगौलिक विषमतालाई अन्त्य गरी सुशासन, सामाजिक न्याय र समृद्धि हासिल गर्ने लक्ष्य राखेको छ,’ प्रधानमन्त्री दाहालले भने ।

यस्तै प्रदेशगत विनियोजनको तथ्यांक हेर्दा कर्णाली मधेश प्रदेशलगायतका भौगौलिक क्षेत्रहरूमा तुलनात्मक रुपमा पर्याप्त बजेट विनियोजन भएको र बजेट बाँडफाँडका विषयमा सांसदहरुले चासोका साथ उठाएका महत्वपूर्ण विषयहरूमा सरकारले आगामी दिनमा थप संवेदनशील भएर काम गर्ने पनि दाहालको भनाइ थियो ।


क्लिकमान्डु