आगामी मौद्रिक नीति निजी क्षेत्रको मनोबल बढाउने गरि आउनुपर्छ: भुवन दहाल



काठमाडौ । बैंकर संघका पूर्वअध्यक्ष भुवन दहालले अहिले निजी क्षेत्रको मनोबल कमजोर भएको भन्दै अब आउने मौद्रिक नीतिले निजी क्षेत्रको मनोबल बढाउन आवश्यक रहेको बताएका छन् ।

नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आयोजना गरेको प्रि मनिटरी पोलिसि डिसकसन कार्यक्रममा दहालले अहिले निजी क्षेत्रको मनोबल कमजोर भएका कारण कर्जा प्रवाह हुन नसकेको बताए ।

अहिले पूर्वाधार तयार रहेको भए पनि मनोबलका कारण समस्या देखिएको उनको भनाइ छ । मनोबल बढाउने नीति लिन राष्ट्र बैंकलाई उनले सुझाव दिए ।

बैंकप्रति जनताको मनोबल बढाउन राष्ट्र बैंकको महत्त्वपूर्ण भूमिका हुने उनले बताए । अहिले बैंकमा गैह्र बैंकिङ सम्पत्ति बढ्दा यसको प्रेसर बैंकमा बढ्दै जाने दहालले बताए ।

बैकिङ कसुर तथा सजाय ऐनमा कारण बैंकरले काम गर्न नसकेको उनको भनाइ छ ।

कार्यक्रममा नेपाल उद्योग परिसंघ (सीएनआई)का अध्यक्ष राजेश कुमार अग्रवालले निजी क्षेत्रमा गएको कर्जा बैंकले दिएपछि निजी क्षेत्रले लिएको बताए । पहिला दिने अनि बीचमा सरकार ब्युझेर जिडिपिमा योगदान भएन भनेर कस्न खोज्नु गलत भएको उनले बताए । २० वर्षमा गएको कर्जा २ वर्षमा रोक्न नसक्ने उनको भनाइ छ ।

उनले बैंकले दिएको कर्जा वर्गीकरण गर्ने बेला भएको धारणा राखे । उनले वर्किङ क्यापिटल गाईडलाइन्सले रियल सेक्टरमा असर पारेको बताए । व्यवसायीले कर्जा लिएपछि त्यसले हुने उत्पादन र बिक्री कति हुन्छ भन्ने महत्त्वपूर्ण हुने उनले बताए ।


क्लिकमान्डु