पेट क्लिनिक, ई–लाइब्रेरी, रिइन्स्योरेन्स ब्रोकर र एयर बीएनबी पनि महानगरमा दर्ता हुनपर्ने



काठमाडौं । काठमाडौं महानगरपालिकाले पेट क्लिनिक वा अस्पताललाई व्यवसाय कर लगाउने भएको छ । महानगरले आर्थिक विधेयक प्रस्ताव गर्दै आगामी आर्थिक वर्षदेखि घरपालुवा जनावरको उपचारका लागि खोलिएका क्लिनिक वा अस्पतालले व्यवसाय कर तिनुपर्ने व्यवस्था गरेको हो ।

यस्तो प्रकृतिको व्यवसाय गर्नेले साउन १ गतेदेखि १० हजार रुपैयाँ तिरेर व्यवसाय दर्ता गर्नुपर्नेछ ।

प्रादेशिक व्यापार तथा व्यवसाय ऐन २०७६ अनुसार ५ लाख रुपैयाँ भन्दा कम पुँजी भएका व्यापार व्यवसाय नगरपालिकाभित्र दर्ता हुनुपर्ने व्यवस्था छ ।

हालसम्म पेट क्लिनिक महानगरभित्र व्यवसाय दर्ता हुनपर्ने आवश्यकता थिएन । यसैगरी इपुस्तकालय वा समय तोकी इसर्भिस उपलब्ध गराउने व्यवसाय पनि महानगरमा ५ हजार रुपैयाँ तिरेर दर्ता हुनुपर्ने भएको छ भने रिइन्स्योरेन्सको ब्रोकरले पनि महानगरमा दर्ता गर्नुपर्ने भएको छ । यस्तो व्यवसायका लागि १० हजार रुपैयाँ दर्ता शुल्क तोकिएको छ ।

महानगरले एयर बीएनबीसम्बन्धि व्यवसायलाई पनि दर्ता गर्नुपर्ने व्यवस्था गरेको छ । जसअनुसार ३ वटा बेडरुमसम्मका लागि ५ हजार, ५ वटासम्मका लागि ७ हजार र बढीका लागि १० हजार रुपैयाँ शुल्क लाग्नेछ ।


क्लिकमान्डु