बीवाईडी सिलः फुल चार्ज गर्दा कुद्छ २१०० किलोमिटर



काठमाडौं । विश्वबजारमा विद्युतीय कार रोजाइको विषय बनिरहँदा एउटा नयाँ कारले आम उपभोक्ताले छनोट गर्ने एउटा दरिलो कारण थपेको छ । विश्वविख्यात चिनियाँ विद्युतीय कार निर्माता कम्पनी बीवाईले बनाएको सो कारले सबैको ध्यान खिचेको हो ।

इलेक्ट्रिक कारले एकपल्ट फुल चार्ज गर्दा कति किलोमिटरसम्म दौडन सक्ला ? यसको सामान्य जवाफ छ, ३ सय किलोमिटर वा ५ सय किलोमिटर वा ८५० किलोमिटर । तर, यो कुराले सबैलाई आश्चर्यमा तान्न सक्छ कि बीवाईडीले उत्पादन गरेको सिलको नयाँ कारले २१०० किलोमिटरको रेन्ज दिन्छ ।

अर्थात्, एक फुल चार्जमा २ हजार किलोमिटरभन्दा पनि बढी । यो रेन्ज बजारमा उपलब्ध हुने ईलेक्ट्रिक कारले दिने औसतभन्दा ५ गुणा बढी हो ।

बढी रेन्ज दिने कारको रेकर्ड लुसिड एयर ग्रान्ड टुरिङको नाममा थियो ।

चिनियाँ विद्युतीय कार उत्पादक बीवाईडीले सान्जेन अटो शोमा प्रस्तुत गरेको सिल ०६ डीएम–आई र क्विन एल डीएम–आईले २,१०० किमि रेन्ज दिनेछ ।

बीवाईडीले डीएम–आई ५.० प्लग–इन हाइब्रिड इलेक्ट्रिक भइकल (पीएचईभी) प्लेटफर्म निर्माण गरेको र सोही प्लेटफर्ममा यी दुई कार बनेको हो ।

अर्थात् यी कार पूर्णतः इलेक्ट्रिक नभएर हाइब्रिड कार हुन् । यी कारको सुरुवाती मूल्य ९९ हजार ८ सय युआन पर्ने बताइएको छ ।

कारको टेस्ट ड्राइभ गर्दा १ लिटर इन्धनले ४० किलोमिटर माइलेज दिने गरेको पाइएको छ ।

सिल ०६ डीएम–आई एक इ–सेग्मेन्ट सेडान कार हो जुन ४ हजार ८३० मिलिमिटर (करिब ५ मिटर) लामो छ ।

यो बीवाईडी ओसन सिरिजको कार हो । यो कारको लुक्स बीवाईडीको सिल र सिल डीएम–आईसँग मिल्दोजुल्दो छ ।

कारको ग्रिल होचो छ, ढोकाको ह्यान्डल केही लुकेका छन् । पछाडिपट्टि वारपार फैलिएको टेललाइट छ । यसैगरी बीवाईडीको लोगोमा पनि रातमा देखिने गरी बत्ती जडान गरिएको छ ।

कारको इन्टेरियर उत्तिकै प्रिमियम फिल दिने किसिमको छ । जहाँ ८.८ इन्चको इन्स्ट्रुमेन्ट स्क्रिन दिइएको छ भने १५.६ इन्चको रोटेटिङ सेन्टर स्क्रिन जडान गरिएको छ ।

सिल ०६ डीएम–आईमा ६ वटा एयरब्याग दिइएको छ । अटोमेटिक एसी, वान टच ड्राइभर्स विन्डो कन्ट्रोल, टायर प्रेसर मोनिटरिङ जस्ता अनेकौं सुविधा कारमा उपलब्ध छ ।

कारमा ४२५ लिटरको अनपेक्षित बुटस्पेस छ । पछाडिका सिट फोल्ड गर्दा यो स्पेस १४४० लिटर हुनेछ ।

यो सेडान कार हिँडेपछि क्याबिनमा शान्त महसुस हन्छ । तर, यो कार हाइब्रिड भएकाले बीवाईडीका अरु कार झैं हलुका भने छैन ।

कारमा १५.९ किलोवाट आवरको ब्याट्री दिइएको छ जसको रेन्ज १२० किलोमिटर हो । साथै ६५ लिटरको इन्धन ट्यांक पनि दिएको छ । ब्याट्री र इन्धनको संयुक्त ऊर्जाले कार २१ किलोमिटरसम्म गुड्न सक्छ ।

२ हजार किलोमिटर रेन्ज क्षमताको कार उत्पादन गर्ने बीवाईडी पहिलो कार कम्पनी हो ।


क्लिकमान्डु