भरतपुर महानगरको बजेट ६ अर्ब ५५ करोड



काठमाडौं । भरतपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि ६ अर्ब ५५ करोड ८५ लाख ९८ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ । महानगरपालिकाको नगर सभामा उपप्रमुख चित्रसेन अधिकारीले आगामी आर्थिक वर्षका लागि बजेट पेश गरेका हुन् ।

१ अर्ब ८० करोड रुपैयाँ आन्तरिक आय हुने अनुमान सहित ल्याइएको आगामी आर्थिक वर्षको बजेट चालू आर्थिक वर्षकोभन्दा २४ करोड ६ लाख ८ हजार रुपैयाँ बढी हो ।

सामाजिक सुरक्षालगायत अन्तर सरकारी अख्तियारी शीर्षकमा १ अर्ब ३० करोड तथा हरेक वडाको सन्तुलित विकासका लागि दुई प्रकारबाट वडास्तरीय सिलिङ निर्धारण गरिएको बजेटमा वडालाई न्यूनतम २ करोड ७४ लाख २८ हजार र अधिकतम २ करोड ९० लाख २ हजार गरी जम्मा वडास्तरीय आयोजनाहरूमा ८२ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ

बजेटले दूध उत्पादनमा दिइँदै आएको उत्पादनमा आधारित प्रतिलिटर ३ रुपैयाँ अनुदान कार्यक्रमलाई निरन्तरता, पशु बिमा कार्यक्रम सञ्चालन, मत्स्य फर्महरूमा प्रयोग हुने विद्युत् महसुलमा पचास प्रतिशत अनुदान निरन्तरता लगायत पशु विकास कार्यक्रम कार्यान्वयन गर्न ७ करोड रुपैयाँ बजेट पनि विनियोजन गरेको छ ।


क्लिकमान्डु