विराटनगर महानगरपालिकाले ल्यायो ३ अर्ब ४९ करोडकाे बजेट



काठमाडौं । विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि ३ अर्ब ४९ करोड ९८ लाख ८६ हजार रुपैयाँ बराबरको बजेट ल्याएको छ । सोमबार महानगरपालिकाका उपमेयर शिल्पा निराला कार्कीले नगर सभामा बजेट पेस गरेकी हुन् । महानगरपालिकाले चालू आर्थिक वर्ष २०८०/८१ का लागि ३ अर्ब ३६ करोड रुपैयाँको बजेट ल्याएको थियो ।

कार्कीले नगर सभामा चालू आर्थिक वर्षकोभन्दा ४ करोड बढिको बजेट पेश गरेकी हुन् ।

कार्यालय सञ्चालन तथा प्रशासनिक खर्चका लागि ५९ करोड, ऋणको सावा ब्याज भुक्तानीमा ५ करोड, चालु आवको चालु खर्च तर्फको दायित्व भुक्तानीमा ३ करोड ३४ लाख ८३ हजार, समपूरक कार्यक्रममा ६ करोड १० लाख, वडास्तरीय योजनातर्फ ४३ करोड ३ लाख १२ हजार बजेट विनियोजन गरिएको उनले बताइन् ।

उनले बहुवर्षीय ठेक्का तथा गौरवका आयोजना एवं दायित्व सरिआएका योजनाहरूको भुक्तानीका लागि ५० करोड, बस्ती विकास र तराइ मधेस समृद्धि कार्यक्रम तर्फ ५ करोड ६० लाख, मर्मत सम्भार तर्फका लागि १० करोड तथा भारी सवारी साधन खरिदका लागि २ करोड बजेट विनियोजन गरेको पनि बताइन् ।

ज्येष्ठ नागरिकतर्फ ९ लाख ९५ हजार, अपाङ्गता क्षमता विकास कार्यक्रमतर्फ २८ लाख ८ हजार, आर्थिक विकास क्षेत्र अन्तर्गत कृषि विकास तर्फ १ करोड ३ लाख, पशुपंक्षी तथा भेटनरी तर्फ १ करोड ५३ लाख ९७ हजार, सहकारी तर्फ २४ लाख, उद्यमशील विकासतर्फ ५० लाख, उपभोक्ता हित संरक्षणतर्फ ८ लाख ५० हजार, पर्यटन प्रवर्द्धनका लागि १ करोड ९४ लाख रुपैयाँ विनियोजन गरिएको पनि कार्कीले बताइन् ।


क्लिकमान्डु