प्रहरीद्वारा एक करोडको सामान बरामद



बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेले गत जेठ महिनामा एक करोड ३१ लाख रुपैयाँ बराबरको सामान बरामद गरेको छ ।

बाँकेका प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक नारायण डाँगीका अनुसार भारतबाट भन्सार छली गरेर ल्याइएको सामान बरामद गरिएको हो । प्रहरीले दुई लाख ५८ हजार रुपैयाँ बराबरको भारतबाट गैरकानुनी रुपमा नेपाल ल्याएको करिब दुई क्विन्टल बोइलर कुखुरा र एक हजार आठ सय चल्ला बरामद गरेको छ ।

जेठमा प्रहरीले एक हजार सात सय १३ सवारी चालकलाई कारबाही गरेको छ । उनीहरुबाट १४ लाख ६१ हजार रुपैयाँ राजस्व सङ्कलन गरिएको प्रवक्ता डाँगीले बताए ।

यसैगरी प्रहरीले एक सय २१ मोटरसाइकल र स्कुटर लिलामी गरेको छ । प्रहरीले मोटरसाइकल चोरी गर्ने चारजनालाई पक्राउ गरेको छ भने चोरी भएका नौ मोटरसाइकल फेला पारेको छ । यस्तै स्कुटर चोरीमा संंलग्न दुई जनालाई स्कुटरसहित नियन्त्रणमा लिएर कारबाही गरिएको प्रवक्ता डाँगीले बताए ।


क्लिकमान्डु