सहकारी ठगीमा गृहमन्त्री रवि लामिछानेविरुद्ध काठमाडौं प्रहरीमा उजुरी दर्ता, सर्वोच्चमा रिटमाथि सुनुवाइ आज



काठमाडौं । सहकारी ठगी प्रकरणमा मुछिएका उपप्रधान एवं गृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध प्रहरीमा जाहेरी दर्ता भएको छ ।

काठमाडौंको कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको बचत हिनामिना गरेको आरोपमा उनीविरुद्ध जिल्ला प्रहरी परिसर टेकुमा बिहीबार जाहेरी दर्ता भएको हो ।

अधिवक्ता युवराज सफलले मंगलबार हुलाकमार्फत पठाएको किटानी जाहेरी प्रहरीले बिहीबार दर्ता गरेको छ । सुरुमा जाहारी दर्ताका लागि सफल चौकी पुगे पनि प्रहरीले जाहेरी दर्ता गर्न अस्वीकार गरेपछि उनले हुलाकमार्फत जाहेरी पठाएको जनाएका छन् ।

गोरखा मिडियाका अध्यक्ष जिबी राई र तत्कालीन प्रवन्ध निर्देशक रहेका लामिछानेलाई कसूरदार भन्दै संगठित अपराध र ठगीमा अनुसन्धान गर्न माग गरिएको छ ।

जिबी र रविले सहकारी ठग्ने आपराधिक सोच राखेर गैरकानुनी तरिकाले सर्वसाधारणको बचत रकम हिनामिना हुनेगरी सहकारी डुबाएकाले संगठित अपराधअन्तर्गतको कसूर ठहर हुने जाहेरीमा जिकिर गरिएको छ ।

‘स्वर्णलक्ष्मी सहकारीसम्बन्धी जिल्ला प्रहरी कार्यालय काठमाडौँले गरेको अनुसन्धान प्रतिवेदन, सहकारीसम्बन्धी निकायले गरेको अनुसन्धान प्रतिवेदन साथै विभिन्न राष्ट्रिय मिडियामा सार्वजनिक भएका तथ्यांकहरुलाई मुख्य प्रमाण मानी आवश्यक कारवाही गरि पाऊँ’, जाहेरीमा भनिएको छ ।

उक्त कसूरमा सहकारी ऐन दफा १२२ को उपदफा (ख), संगठित अपराध निवारण ऐन २०७० र मुलुकी अपराध संहिता २०७४ को दफा २४९ आकर्षित हुने भएकाले निजहरुलाई तत्काल पक्राउ गरी हदैसम्मको कैद सजाय हुन तथा पीडितको रकम फिर्ता गराउन माग गरिएको छ ।

स्वर्णलक्ष्मी सहकारीबाट जिबी र रविले ‘सवारी कर्जा’ शीर्षकमा दुई पटक रकम लिएका थिए । ०७८ वैशाख ९ गते गोर्खा मिडिया नेटवर्क प्रालिका नाममा चारपांग्रे सवारी खरिदका लागि ४६ लाख ४८ हजार रूपैयाँ कर्जा लिएका उनीहरूले ०७८ साउन ५ गते पुनः सोही नाममा ४६ लाख ९८ हजार रूपैयाँ लिएको भौचर सार्वजनिक भएको थियो ।

लामिछानेविरुद्ध यसअघि पोखराको सूर्यदर्शन सहकारी ठगीको आरोपमा पुरक जाहेरी परेको थियो । लामिछानेलाई महान्यायाधिवक्ताको कार्यालयले जाहेरी नपरेको भन्दै क्लिन चिट दिएपछि त्यसविरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ ।रिटमाथि सुनुवाइ केही समय यता पेसीमा पर्दै आएको छ । आज लामिछानेविरुद्धको रिटमा सर्वोच्चमा सुनुवाइ हुँदैछ । रिट न्यायाधीशहरु सपना मल्ल प्रधान र शारंगा सुवेदीको इजलासमा सुनुवाइ हुँदैछ ।


क्लिकमान्डु