कुमार पौडेलको ‘गैरन्यायिक हत्या’: पाँच वर्ष बित्दा पनि दोषीमाथि भएन कारबाही



काठमाडौं । एड्भोकेसी फोरम–नेपालले नेपाल कम्युनिस्ट पार्टीका इन्चार्ज कुमार पौडेलको गैरन्यायिक हत्याका जिम्मेवार व्यक्तिलाई अभियोजन गर्न माग गरेको छ ।

सर्लाहीमा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका इन्चार्ज पौडेललाई नेपाल प्रहरीका अधिकृतहरूले नियन्त्रणमा लिएर गैरन्यायिक हत्या गरेको पाँच वर्ष बितिसकेको फोरमले जनाएको छ ।

२०७६ असार ५ गते लालबन्दी नगरपालिकास्थित लखनदेहीको जंगलमा उनको हत्या गरिएको थियो । पौडेलको हत्यामा शीघ्र तथा स्वतन्त्र अनुसन्धान गर्न, घटनामा जिम्मेवार रहेका व्यक्तिमाथि अभियोजन गर्न तथा पीडित र उनको परिवारलाई न्याय दिलाउन सरकारसमक्ष एड्भोकेसी फोरम नेपाल आग्रह गरेको छ ।

एड्भोकेसी फोरम नेपाल र राष्ट्रिय मानवअधिकार आयोगले गरेको स्थलगत भ्रमणका आधारमा तयार पारिएका प्रतिवेदनहरूले पौडेललाई गैरन्यायिक हत्या गरिएको निष्कर्ष निकालेका थिए । आयोगले उक्त हत्यामा संलग्न प्रहरी अधिकृतहरूलाई तत्काल निलम्बन गर्न सिफारिस गरेको थियो र उनीहरूका विरुद्ध फौजदारी अभियोजनको सिफारिस पनि गरेको थियो । आयोगका सिफारिसहरू तत्काल कार्यान्वयन गर्नका लागि नेपाल सरकारलाई एड्भोकेसी फोरम नेपाल आग्रह गरेको हो ।

घटनाको अनुसन्धानका लागि पीडित परिवारले जिल्ला प्रहरी कार्यालय सर्लाहीमा जाहेरी दर्ता गराउन खोजेको भए पनि प्रहरीले अस्वीकार गरेको थियो । त्यसपछि पीडित परिवारले २०७७ मंसिर २७ गते सर्वोच्च अदालतमा परमादेश जारी गराइपाऊँ भन्दै रिट निवेदन दायर गरेको थियो । उक्त निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले २०७८ असोज ११ गते जिल्ला प्रहरी कार्यालय सर्लाहीलाई तत्कालै जाहेरी दर्ता गरी शीघ्र अनुसन्धान आरम्भ गर्नका लागि परमादेश जारी गरेको थियो ।

तदनुरूप जिल्ला प्रहरी कार्यालय सर्लाहीले २०७८ असोज २० गते जिल्ला सरकारी वकील कार्यालयका अधिकारीहरूको रोहबरमा सनाखत गरी जाहेरी दर्ता गरेको थियो ।

जाहेरी दर्ता गरे पनि प्रहरीले घटनामा संलग्न रहेको भनिएका कसैलाई पनि सोधपुछका लागि बोलाएको छैन र जाहेरीमा नाम किटिएका व्यक्तिका विरुद्ध पक्राउपुर्जी पनि जारी गरेको छैन । यसबीचमा पीडितको परिवारले न्यायका लागि संघर्ष गर्ने क्रममा धाकधम्कीको सामना गर्नुपरेको छ र यसले उनीहरूको पीडा बढाएको छ ।

नेपालको न्याय प्रणालीमा समस्या रहेको तथ्यलाई पौडेलको गैरन्यायिक हत्याले उजागर गरेको फोरमले जनाएको छ । जवाफदेहिताको अभावका साथै देशको न्याय प्रणालीमा गढेर रहेको दण्डहीनताका विषयमा एड्भोकेसी फोरम नेपालले सरकारको ध्यानाकर्षण गरेको छ ।

कुमार पौडेलको गैरन्यायिक हत्याको निष्पक्ष अनुसन्धान गर्न, घटनाका जिम्मेवार व्यक्तिलाई पक्राउ गर्न र दोषी पाइएका व्यक्तिलाई अभियोजन गर्न प्रहरीलाई एड्भोकेसी फोरम नेपालले आग्रह गर्दै पीडित परिवारलाई सुरक्षा उपलब्ध गराउन तथा न्याय सुनिश्चित गराउनका लागि सरकारसमक्ष माग गरेको छ ।


क्लिकमान्डु