मेलम्ची खानेपानीको हेडबक्स बनाउन एडीबीले २ अर्ब अनुदान दिने



काठमाडौं । एसियाली विकास बैंकले मेलम्ची खानेपानी आयोजनालाई २ अर्ब अनुदान दिने भएको छ ।

सञ्चालनमा नआउँदै २०७८ सालको बाढी पहिरोले आयोजनाको हेडबक्समा ठूलो क्षति पुर्‍याएकाले हेडबक्स निर्माणका लागि एडीबीले २ अर्ब (१९दशमलव ७५ मिलियन अमेरिकी डलर) बढी नेपाली रुपैयाँ अनुदान दिएको खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्यले जानकारी दिए ।

बाढीसँगै बगेर आएका गेग्रान र ढुंगाहरुले हेडबक्सका सम्पूर्ण संरचना पुरिदिएपछि झन्डै १ हजार मिटरमाथि हेडबक्स बनाउने तयारी भइरहेको बेला एडीबीले २ अर्बभन्दा बढी नेपाली रुपैयाँ अनुदानमा उपलब्ध गराएको सचिव आचार्यले बताए ।

‘एडिबीले आफूले लगानी गरेको छ । आफैँले अध्ययन गराएको छ । उसको यति धेरै लगानी भईसक्यो । उसले पनि त आफ्नो लगानी त्यतिकै खेर फाल्छ चाहँदैन । उसले गराएको अध्ययनमा माथि रकबेल्ड छ । त्यसमा रड खोपेर एंगल मिलाएर पानी पठाउने भनेको छ । साथै एडिबीले अहिले हामीलाई २ अर्बभन्दा बढी ग्राण्ड दिएको छ । हाम्रो ड्यामेज ९० करोडको हो । उसले तपाईहरुको ड्यामेज भयो हामी २ अर्ब दिन्छौँ भन्यो । हामीले त्यो सुविधा लिने कि नलिने ? हाम्रो खर्च ४ अर्ब होला आधा त कभर गरिदियो नि । बाँकी २ अर्ब त हामी १/२ वर्षमा उठाईदिहाल्छौँ नि काठमाडौंमा पानी जान थालेपछि त’ आचार्यले भने ।

२ वर्ष अघिदेखि नै उसले हेडबक्स सुरक्षित स्थानमा सार्नुपर्ने सुझाव दिँदै आएको भए पनि मन्त्रिपरिषद्को बैठकले केही दिनअघि मात्रै सैद्धान्तिक सहमति दिएको थियो ।

सरकारले सहमति जनाएसँगै आयोजनाले हेडबक्स सार्नका लागि परामर्श दाता छनोट प्रक्रिया अघि बढाएको छ । आयोजनाले ४ वर्षमा निर्माण सम्पन्न गरिसक्ने जनाएको छ । यसको लागि झन्डै साढे ३ अर्ब लागत लाग्ने अनुमान आयोजनाको छ ।


क्लिकमान्डु