प्रदेशहरु तेस्रो तहका नेताहरुको व्यवस्थापन गर्ने ठाउँ बन्यो: रवि लामिछाने



काठमाडौं । उपप्रधान एवं गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रदेश संरचनालाई सही बाटोबाट अघि बढाउन आवश्यक रहेको बताएका छन् ।

बुधबार नेपाल समाजवादी पार्टीको स्थापना दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रदेश तेस्रो तहका नेताहरुलाई राख्ने स्थल बनेको बताए ।

व्यवस्थाले परिकल्पना गरेको संघीयताको मर्मलाई दलहरुले अँगाल्न नसकेको उनको भनाइ छ । उनले तेस्रो तहका नेताहरुलाई राख्ने ठाउँ प्रदेश बनेको बताए ।

‘प्रदेश संरचनालाई लिएर हामीले राखेका केही प्रश्नहरुलाई लिएर धेरै जिज्ञासाहरु छन् । प्रदेश जुन ढंगको बनेको छ, के संविधानले परिकल्पना गरेको प्रदेश अहिले जे देखिएको छ, त्यही प्रदेश हो । के त्यसले संविधानले परिकल्पना गरेको, व्यवस्थाले परिकल्पना गरेको संघीयताको मर्मलाई बोकेको छ की बद्नाम गराउने काम गरेको छ । त्यसलाई रिट्रोफिट गरौँ है, त्यसलाई ठिक गरौँ, त्यो बेढंगको छ, हामीले ढंगको बनाउनुपर्छ भनेको हो,’ उनले भने, ‘त्यो दोस्रो तेस्रो लेयरका राजनीतिक दलका नेताहरुलाई पार्किङ गर्ने, पार्किङ स्थल भएको छ । तेस्रो तहका नेताहरु कता जाने भन्दा प्रदेशमा ।’

गृहमन्त्री लामिछानेले सबैलाई जोगाउँदा, देश, व्यवस्था र संविधान नजोगिने अवस्थामा पुगेको बताए । उनले मिलेर जाउँ भन्ने चकरमा आफू ३ महिना नलागेको भए गत निर्वाचनमा २० सिट बढी जित्ने दाबी गरे ।


क्लिकमान्डु