दिल्लीको तापक्रम ५० डिग्री पुग्यो, विज्ञ भन्छन्- धुलोयुक्त आँधी आउनेछ



भारतको राजधानी दिल्लीमा अत्यधिक गर्मीले जनजीवन कष्टकर बनेको छ । बुधबारको सरकारी तथ्यांक अनुसार दिल्लीको उत्तरी क्षेत्रमा ५० डिग्री सेल्सियस तापक्रम पुगेको छ । अर्को साताको अन्त्यमा धुलोयुक्त आँधी आउने विज्ञहरुले बताएका छन् ।

एजेन्सी । भारतको राजधानी नयाँदिल्लीसहित विभिन्न सहरमा अत्याधिक गर्मीले जनजीवन कष्टकर बनेको छ । चर्को घाममा हिँड्दा आम मानिसहरुमा ज्वरो आउने, वान्ता हुने, टाउको दुख्ने, बेहोस हुने जस्ता लक्षण देखिएको बताइएको छ । अधिकांश सहरमा ४५ डिग्रीभन्दा बढी तापक्रम रेकर्ड गरिएको छ ।

बीबीसीमा प्रकाशित समाचार अनुसार राजधानी दिल्लीको उत्तरी भागमा तापक्रम बढेर ५० डिग्री सेल्सियससम्म पुगेको छ । स्थानीय मौसम विभागका अनुसार मुंगेशपुरको तापक्रम ४९.९ डिग्री पुगेको छ । साथै नजफगढ क्षेत्रको तापक्रम ४९.८ डिग्री पुगेको तथ्यांक छ । यो तापक्रम यस सिजनमा अझै बढ्नसक्ने चेतावनी विज्ञहरुले दिएका छन् ।

सफदरगन्जमा भने एक दिनअघि ४५.१ डिग्री तापक्रम भएकोमा आज मात्रै बढेर ४५.८ डिग्री पुगेको छ । दिल्लीमा तापक्रम बढिरहँदा आगामी हप्ताको अन्त्यतिर धुलोसहितको आँधी आउनसक्ने विज्ञहरुले बताएका छन् ।

‘जुन १ वा २ गते धुलो भरिएको हुरीबतास आउने सम्भावना छ । त्यसले पनि गर्मी हटाउन केही रात मिल्नेछ । तर त्यो छोटो अवधिको मात्रै हुनेछ,’ स्काइमेट मौसम विज्ञान र जलवायु परिवर्तनका उपप्रमुख महेश पलावतले भनेका छन् ।

यही महिनाको सुरुमा पनि दिल्लीका केही भागमा धुलो भरिएको आँधी, तीब्र हावाहुरी र वर्षा भएको थियो । जसकारण दिल्लीमा अवतरणको तयारीमा रहेका ९ वटा विमानहरु डाइभर्ट गरिएको थियो ।

दिल्लीका मुंगेशपुर र नरेलामा सबैभन्दा बढी तापक्रम देखिएको छ । जहाँ बुधबार मात्रै गरिएको मापन अनुसार मुंगेशपुरको तापक्रम झण्डै ५० डिग्री पुग्न लागेको छ । राजधानी दिल्लीमा पछिल्लो तीन दिनदेखि तातो हावाको बहाव चलिरहेको छ । र दिल्लीलाई उच्च जोखिममा रहेको बताइएको छ । दिल्लीमा हरेक वर्ष सामान्यत जुनको अन्त्यतिर मनसुन सुरु हुने गर्छ ।


क्लिकमान्डु