सन्दीपलाई कुर्दै क्यान, १४ जनाको मात्र बुझायो नाम



काठमाडौं । चार दिनपछि टी-२० क्रिकेट विश्वकप सुरु हुँदै छ । नेपाल १० वर्षपछि दोस्रोपटक टी-२० विश्वकपमा सहभागी हुँदै छ ।

त्यसका लागि नेपाली क्रिकेट खेलाडीहरु अमेरिका पुगिसकेका छन् र अभ्यास खेलमा सहभागी हुँदै छन् ।

अमेरिका र वेष्ट इन्डिजले संयुक्त रुपमा आयोजना गर्ने खेलमा नेपालले पहिलो खेल जुन ४ (१९ गते शनिबार) मा नेदरल्याण्डससँग खेल्ने छ । त्यस्तै जुन १२ मा श्रीलंका र जुन १५ मा दक्षिण अफ्रिकासँग खेल्ने छ । त्यस्तै जुन १७ मा नेपालको खेल बंगलादेशसँग छ । समूह चरण पार गरे त्यसपछिका खेलहरु नेपालले खेल्ने छ ।

नेपालले विश्वकपको पहिले खेल अमेरिकाको डालासस्थित प्रेरी भ्यू मैदानमा खेल्ने छ ।

सन्दीपलाई भीषाको आशा

क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले बलात्कार आरोपमा सफाइ दिएपछि उनलाई अमेरिका पठाउने तयारी क्यानले गरेको थियो ।
त्यसका लागि अमेरिकी भिसाका लागि आवेदन दिए पनि सन्दीपले भिसा पाउन सकेनन् ।

उनलाई नेपालस्थित अमेरिकी दूतावासले भिसा उपलब्ध नगराएपछि सरकारी स्तरबाट पहल भइरहेको र उनको भीषा लाग्ने विश्वास नेपाल क्रिकेट संघले गरेको छ ।

त्यसैले मे २५ तारिख(जेठ १२) मा क्यानले आईसीसीमा १५ सदस्यीय खेलाडीको अन्तिम सूची दर्ता गर्नु पर्नेमा १४ सदस्यीय टोलीको नाम मात्र बुझाएको छ ।

आइसीसीलाई अनुरोध गरेर हाल १४ जना खेलाडीको नाम बुझाएको र आईसीसीले केही दिनका लागि पर्खन सहमति दिएको क्यानका खेलाडी छनोट समितिका संयोजक दीपेन्द्र चौधरीको भनाइ रहेको बीबीसी नेपालीले जनाएको छ ।

सन्दीपले भिसा पाएमा उनी खेलमा सहभागी हुन पाउने र टोलीसँगै अमेरिकामा रहने एक जना वैकल्पिक खेलाडीमा पर्ने भएका छन् । वैकल्पिक खेलाडीमा परेका उनी विश्वकपभर टीममै रहने छन् । यदी सन्दीपको भिसा नलागे हाल टोलीमा रहेका १५ सदस्यले विश्वकप खेल्ने छ ।

अमेरिकामा रहेका १५ मध्ये १४ जनाको नामको सूची बुझाए पनि कसको नाम निकालियो भन्नेबारे क्यानले सार्वजनिक गरेको छैन ।

यदी सन्दीपको भिसा लागेमा बलरहरुमध्येबाट एक जना बैकल्पिकमा पर्ने सक्ने अनुमान गरिएको छ ।

हाल नेपाली टोलीमा स्पिनरहरू ललितनारायण राजवंशी, सागर ढकाल छन् भने सोमपाल कामी, करण केसी, कमलसिंह ऐरी, गुलशन झा तीव्र गतिका बलर हुन् ।

त्यस्तै कामचलाउ स्पिनरहरूमा दीपेन्द्र सिंह ऐरी, कप्तान रोहित पौडेल, कुशल मल्ल र कुशल भुर्तेल रहेका छन् ।


क्लिकमान्डु