प्रचण्डलाई देउवाले भने- कान्तिपुरले सबैभन्दा बढी मेरो आलोचना गरेको छ



‘स्थापनादेखि नै कान्तिपुरबाट सबैभन्दा धेरै मैले गाली खाएको छु। तर मेरो पार्टीको कुरा छ, त्यो ठीक वा गलत के थियो आफ्नो ठाउँमा जवाफ दिउँला। तर मेरा बारेमा के लेखियो भन्ने आधारमा मिडियालाई कन्ट्रोल गर्न थालियो भने अवस्था कहाँ पुग्छ ?’

काठमाडौं । कान्तिपुरका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गरिएको सम्बन्धमा नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानमन्त्री पुष्पकमल दाहालप्रति असन्तुष्टि व्यक्त गरेको गगन थापाले बताएका छन् ।

कांग्रेसले सरकारको विरोध स्वरुप आइतबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा कांग्रेसका महामन्त्री एवं सांसद गगन थापाले यसबारे बताएका हुन् । महामन्त्री थापाका अनुसार देउवाले प्रधानमन्त्री दाहालसँग सञ्चारमाध्यममाथि नियन्त्रण गर्नु अनुचित रहेको सुझाव दिएका थिए ।

‘हाम्रो पार्टी सभापति शेरबहादुर देउवाले अस्ति प्रधानमन्त्रीलाई भन्नुभएको सम्झन्छु, कान्तिपुरको स्थापना कालदेखि आजसम्मको पत्रिका पल्टाएर हेर्नुस् आजसम्म कान्तिपुरबाट सबैभन्दा आलोचना भएको र लखेटिएको, सबैभन्दा बढी गाली खाएको १ नम्बरमा मेरो नाम आउँछ,’ महामन्त्री थापाले देउवाको भनाइ उद्धृत गर्दै भनेका छन् ।

तर देउवाले त्यसलाई पार्टीसँग जोडेर हेर्दै संयम भएको संकेत गरेका थिए । उनले देउवाको भनाइ उद्धृत गरेका थिए, ‘मैले गाली खाएको छु। तर मेरो पार्टीको कुरा छ, त्यो ठीक वा गलत के थियो आफ्नो ठाउँमा जवाफ दिउँला। तर यसको आधारमा, मेरा बारेमा के लेखियो भन्ने आधारमा मिडियालाई कन्ट्रोल गर्न थालियो भने कहाँ पुगिन्छ ?’

नेता थापाले कान्तिपुरका अध्यक्षलाई पक्राउ गरेको विषयलाई सामान्य रुपमा हेर्दाहेर्दै थाहै नपाइकन सरकार निरंकुश बन्नसक्ने भन्दै चिन्ता व्यक्त गरेका थिए । साथै यस्तो कदमलाई उनले गठबन्धन सरकार निरंकुशतातर्फ उन्मुख हुने रबैया देखाएको भन्दै यसको प्रतिकार गर्नुपर्ने बताएका थिए ।

लोकतन्त्र र प्रेस स्वतन्त्रतासँग नेपाली समाजको गहिरो प्रेम रहेको भन्दै यसलाई गुम्न दिन नहुने पनि महामन्त्री थापाले बताए । दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मासहित कृष्ण सिटौला लगायत नेपाली कांग्रेसका नेताहरुले आइतबार अपराह्न माइतीघरमा सरकारको विरोध प्रदर्शन गरेका छन् । यसवाहेक सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छनबिन गर्नुपर्ने भन्दै नेपाली कांग्रेसका सांसदहरुले संसद्‍मा नियमित प्रदर्शन गर्दै आएका छन् ।


क्लिकमान्डु