संसद्‍मा विरोध हुँदा कार्यभार पूरा गर्न कठिन : जनार्दन शर्मा



काठमाडौं । पूर्वअर्थमन्त्री तथा नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले संसदको गतिरोध अन्त्य हुन नसक्दा संसदीय कार्यभार पूरा गर्न कठिन भइरहेको बताएका छन् ।

संघीय संसदमा प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले सिर्जना गरेको अवरोधप्रति लक्षित गर्दै यसले गर्दा राष्ट्रमा थप संकट बढ्ने र जनतामा असन्तोष बढ्दै जाने नेता शर्माले बताए । यसैले पनि गतिरोध अन्त्य गर्न सबैले आफ्नो ठाउँबाट सकारात्मक पहल गर्नुपर्ने भन्दै उनले अपिल गरेका थिए ।

आइतबार प्रतिनिधिसभामा नीति तथा कार्यक्रममाथि छलफल गर्दै उनले भने, ‘नीति तथा कार्यक्रमले देशको वर्तमान अवस्थालाई बदल्दै राष्ट्र, राष्ट्रियता, समृद्धि, सुशासनका मार्गमा अघि बढ्नुपर्ने मार्गनिर्देशन गरेको छ । समृद्धि र विकासका लागि राष्ट्रिय सहमति आवश्यकता हो । राष्ट्रका सामु उत्पन्न चुनौतीहरु राष्ट्रिय सममति र एकाताबाट मात्र सम्भव छ ।’

संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र कार्यान्वयनको अवस्था गम्भीर बन्दै गएकाले सबैले गम्भीरतापूर्वक सोच्न र राजनीतिक दलप्रति जनताका प्रश्न र आक्रोश मनन गर्न उनले आह्वान गरेका थिए ।

‘नीति तथा कार्यक्रमले संविधान कार्यान्वयन, संघीयता सबलीकरण र लोकतन्त्र सुदृढ, उत्पादन र उत्पादकप्त वृद्धि, रोजगारी सिर्जना, सुशासन प्रबर्द्धन, सामाजिक सेवा प्रवाहमा सुधार, सरलीकरण, नागरिकमैत्री शासनप्रणालीको स्थापना र भ्रष्टाचार नियन्त्रण जस्ता कुरा अघि सारेको छ,’ उनले भने, ‘सुशासनलाई संस्थागत गर्न, विकास निर्माणलाई गति दिन र सेवा प्रणालीलाई सारभूत र आम जनताले महसुस हुने गरी सधुार गर्न, शान्ति प्रक्रियालाई निष्कर्ष दिन पनि संसदको गतिरोध अन्त्य हुनु आवश्यक छ ।’


क्लिकमान्डु