सहकारी ठगी प्रकरण: बुढानीलकण्ठ गएनन् ओली, देउवासँग प्रधानमन्त्रीको के भयो कुराकानी ?



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेट भएको छ ।

आइतबार बिहान सभापति देउवाको निजी निवास बुढानीलकण्ठमा भेट भएको हो । सभापति देउवाको आग्रहमा प्रधानमन्त्री दाहाल बुढानीलकण्ठ पुगेको कांग्रेस सांसद जीवन परियारले बताए ।

बैठकमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पनि बोलाइएको भए पनि प्रधानमन्त्री मात्रै बैठकमा सहभागी भएको उनले जानकारी दिए ।

भेटमा दाहाल र देउवाबीच वान टु वान वार्ता समेत भएको छ । वार्ताबारे कांग्रेस सभापति देउवाले दलका नेताहरुलाई नबताएको र अहिलेको गतिरोध अन्त्य गर्ने बारेमा नै छलफल भएको हुनुपर्ने सांसद परियारको भनाइ छ ।

भेटमा सहकारीको रकम अपचलनसम्बन्धी उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको नाम नै किटान गरेर जानुपर्ने अडान कांग्रेसले राखेको उनको भनाइ छ ।

प्रधानमन्त्री सहकारी प्रकरणबारे छानबिन समिति गठन गर्न र अहिलेको गतिरोध हटाउन सकारात्मक देखिएको बताए । शीर्ष दलका नेताहरुको बैठक आइतबार साँझ वा सोमबार बिहान पुनः बसेर निस्कर्षमा पुग्ने उनले बताए ।

उनले सत्ता पक्ष छानबिन गर्ने गरी सही रुपमा अझै प्रस्तुत नभएको र आफूहरुले त्यसलाई कुरिरहेको बताए ।


क्लिकमान्डु