बालेन फ्रान्सबाट फर्किनासाथ बेलायत उडिन् सुनिता



काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोल वेलायत प्रस्थान गरेकी छन् । ब्रिटिस काउन्सिलको निमन्त्रणामा वुमन अफ द वल्र्ड, फेस्टिभलमा सहभागी हुन डंगोल बेलायत लागेकी हुन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियार, प्रशासन विभागका प्रमुख दीपक अधिकारी, सचिवालय प्रमुख सौरभ गौत्तमले उनलाई विदाइ गरे । उपप्रमुख डंगोलसँग भ्रमण टोलीमा वडा नं. २७ की सदस्य श्रृष्टि कंसाकार, सम्पदा तथा पर्यटन विभागका प्रमुख कुमारी राई र महाशाखा प्रमुख श्रृजुमैयाँ प्रधान छन् ।

कार्यक्रम सहभागिताको सन्दर्भमा प्रतिक्रिया दिँदै उपप्रमुख डंगोलले विश्व परिवेशमा लैङ्गिक समानता र समावेशीकरणको अवस्था बुझ्न र नेपालको अवस्थासँग विश्लेषण गर्न सघाउ पुग्ने अपेक्षा गरेको बताइन् ।

महानगर प्रमुख बालेन्द्र साह (बालेन) फर्किएलगत्तै डंगोल हिडेकी हुन् । बालेन सोमबार फ्रान्सबाट फर्किएका थिए ।

महोत्सव म्यान्चेस्टर सहरको अभोभा स्टुडियोमा जेठ ११, १२ र १३ गते हुनेछ । भ्रमणको अवधि १० दिनको हुनेछ । फेस्टिभलमा उपप्रमुख डंगोलले अभियानका संस्थापक जुड केली सीबीइसँग छलफल गर्नेछिन् । उनीहरुले एउटै मञ्चबाट सम्बोधन गर्ने कार्यक्रम छ ।

वार्षिक रुपमा मनाइने यो महोत्सव स्थानीय, राष्ट्रिय र अन्तरराष्ट्रिय क्षेत्रका महिलाहरुका बिच अन्तरक्रिया र अनुभव आदानप्रदान हुन्छ । यो सन् २०११ मा लण्डनको साउथ वैङ्कबाट सुरु भएको हो । यो कार्यक्रममा मलाला युसुफजाइ, एनी लेनोक्स, प्याट्रिक स्वीवर्ट, जुली वाल्टर्ससहित विश्व प्रख्यात महिलाले वक्ताका रुपमा सहभागी भइसक्नुभएको छ । लैङ्गिक समानता र समावशीकरणका लागि सकारात्मक परिवर्तन गराउन महिलाहरुको आवाजलाई सशक्त बनाउनु कार्यक्रमको लक्ष्य हो । महोत्सवमा सहभागी महिलाहरुले आफ्ना समस्या, दबाब, अभाव र अवसरका विषयमा खुला छलफल गर्नेछन् । कार्यक्रममा विभिन्न देशबाट राजनीतिकर्मी, अधिकारकर्मी, कला, साहित्य र संगीतजस्ता सिर्जनात्मक क्षेत्रका वक्ता र सहभागीको जमघट हुनेछ ।

हाल सम्म विश्वका ६ महादेशहरुको ४५ भन्दा वढी स्थानहरुमा ५० लाख भन्दा वढी व्यक्तिहरुले सहभागिता जनाइसकेका छन् ।

महोत्सवसँगै भ्रमण टोलीले स्कटल्याण्डमा नेपाल स्कटल्याण्ड एसोसियसनले आयोजना गर्ने कार्यक्रममा सहभागी हुनेछ । यस्तै लण्डनस्थित वेलायतका लागि नेपालको राजदूताबासले आयोजना गर्ने अन्तरक्रियामा सहभागी हुने छ । भ्रमण अवधिमा अक्सफोर्ड विश्वविद्यालय, वर्ल्ड नेवा अर्गनाइजेसनलगायत संस्थाले आयोजना गर्ने कार्यक्रममा सहभागी हुने कार्यक्रम छ । भ्रमण टोली ज्येष्ठ २० गते स्वदेश फर्कनेछ ।

यसप्रकारको भ्रमण र कार्यक्रममा सहभागितापछि आपसी कार्यक्रममा साझेदारिता बढ्ने, क्षमता विकास र सशक्तिकरणका कार्यक्रममा सामुहिक नतिजा प्राप्त हुने अपेक्षा गरिएको छ ।

‘लैङ्गिक र समावेशी कार्यक्रम’ सञ्चालन गर्न काठमाडौँ महानगरपालिकाले गएको वैशाख १० गते ब्रिटिस काउन्सिलसँग समझदारी पत्रमा हस्ताक्षर गरेको छ ।


क्लिकमान्डु