सिरोहिया अदालती प्रक्रियाबाट पक्राउ परेका हुन्, होहल्ला जरुरी छैन: प्रधानमन्त्री



फाइल तस्बिर

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कान्तिपुरविरुद्ध कुनै पनि रिसइबी नसाधिकएको बताएका छन् ।

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ परेपछि प्रधानमन्त्री दाहालले अदालती प्रक्रियाबाटै पक्राउ परेको भन्दै सरकारले कुनै पनि रिसइबी नसाधेको बताएका हुन् ।

बुधबार चन्द्रागिरीमा ‘हिमाल, मानिस र जलवायुसम्बन्धी विज्ञहरूको अन्तर्राष्ट्रिय संवाद’ कार्यक्रमपछि पत्रकारहरुसँग संक्षिप्त प्रतिक्रिया दिँदै प्रधानमन्त्री दाहालले अदालती प्रकृयाबाट छानबिन अघि बढेकाले यसमा धेरै होहल्ला गर्न जरुरी नरहेको बताए ।

‘अदालतले प्रक्रिया अगाडि बढाऊ भनेपछि अदालती प्रक्रिया बुझ्याछु मैले । यो बढ्ता होहल्ला गर्न जरुरी लाग्दैन मलाई,’ प्रधानमन्त्री दाहालले भने । सरकारले रिसइबी साध्यो भन्ने छ नि भन्ने पत्रकारको प्रश्नमा प्रधानमन्त्री भने, ‘त्यो गलत हो । उहाँसँग केको रिसइबी ? ‘

प्रधानमन्त्री दाहालले गृहमन्त्री व्यक्तिगत रुपमै सिरोहियाविरुद्ध प्रतिशोधमा उत्रिएको चर्चा गलत भएको बताए ।

गृहमन्त्री व्यक्तिगत रूपमै प्रतिशोधमा उत्रिनुभयो भन्ने छ नि भन्ने पत्रकारको प्रश्नमा प्रधानमन्त्रीले भने,’त्यो मान्छेले भन्ने कुरा मात्रै हो ।’ अदालती प्रकृयाबाट सिरोहिया छुट्ने उनले बताए ।

सिरोहियालाई नागरिकता प्रकरणमा मंगलबार प्रहरीले काठमाडौंबाट नियन्त्रणमा लिएर धनुषा लगेको छ ।

सिरोहियाले भने गृहमन्त्री रवि लामिछानेको सहकारी ठगीबारे समाचार लेखेकै आधारमा गृहमन्त्रीले आफूलाई पक्राउ गरेको आरोप लगाएका छन् ।


क्लिकमान्डु