रातो पासपोर्ट दुरुपयोगमा सफाइ पाइसकेको भन्दै कांग्रेस उपसभापति गुरुङले दिए गृहमन्त्रीविरूद्ध निवेदन



काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका उपसभापतिसमेत रहेका सांसद धनराज गुरुङले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरूद्ध निवेदन दिएका छन् । उनले गृहमन्त्रीमाथि कारबाही गर्न माग गरेका छन् ।

उपसभापति गुरुङले सोमबार सभामुख देवराज घिमिरेलाई सम्बोधन गर्दै निवेदन दिएका हुन्।

उपसभापति गुरुङले ‘सत्यतथ्य नबोल्ने गृहमन्त्रीमाथि संसदको अवहेलनामा कारबाही गर्न’ माग गरेका छन् ।

गृहमन्त्री लामिछानेले आइतबारको प्रतिनिधि सभामा सम्बोधन गर्दै रातो पासपोर्ट दुरुपयोग गरी अर्कैको फोटो टाँसी विदेश पठाउनेमाथि कारबाही गर्ने कि नगर्ने भन्दै प्रश्न गरेका थिए । गुरुङले रोस्टमबाट गृहमन्त्रीले तथ्यहीन अभिव्यक्ति दिएको आरोप लगाए ।

अदालतले गरेको फैसलामाथि गृहमन्त्री लामिछानेले धावा बोलेको गुरुङले उल्लेख गरेका छन् । गृहमन्त्री लामिछानेले ‘अदालतबाट सफाइ पाइसकेको रातो कुटनीतिक पासपोर्टको विषयलाई तोडमोड गरी आम नागरिकबीच भ्रम सिर्जना गर्न खोजेको’ गुरुङले पत्रमा उल्लेख गरेका छन् ।

गृहमन्त्रीले तथ्यहीन कुरा बोल्दा संसदको अवहेलना भएको भन्दै गुरुङले बोलेको कुरा पुष्टि गर्न लामिछानेलाई चुनौती दिए ।

‘उहाँले बोलेका कुरा पुष्टि गर्न म चुनौती दिन चाहन्छु, पुष्टि नभएमा उहाँमाथि कारबाही गर्न माग गर्दछु,’ सांसद गुरुङले भनेका छन् ।

सांसद गुरुङले सर्वोच्च अदालतले २०६४ असोज २४ गते गरेको फैसलाको प्रतिलिपी पनि निवेदनसँगै राखेर सभामुखलाई दिएको उल्लेख गरेका छन् ।


क्लिकमान्डु