सभामुखको भूमिकाप्रति आपत्ति जनाउँदै विश्वप्रकाशले भने- संसद्‍मा आज सभामुख देखिनँ !



काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले संसद्‍मा विरोधका बीच सभामुखले देखाएको भूमिकाप्रति आपत्ति जनाउँदै टिप्पणी गरेका छन् ।

शर्माले सभामुख देवराज घिमिरे ‘रबर स्ट्याम्प’ बनेको आरोप लगाए । साथै देवराज घिमिरेलाई नदेखेको तर रबर स्ट्याम्प बनाएर कसैले मर्यादाको चिरहरण गरेको उनको टिप्पणी थियो ।

सोमबार संसद्‍मा नेपाली कांग्रेसका सांसदहरुको विरोधका बीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिँदै गर्दा महामन्त्री शर्माले ट्विटरमार्फत् यस्तो टिप्पणी गरेका हुन् । शर्माले लेखेका छन्, ‘संसदमा आज सभामुख देखिनँ ! देखिरहेको छु-रबर स्ट्याम्प´ बनाएर कसैले मर्यादाको चिरहरण गरेको अँध्यारो चित्र मात्र ।’

नेपाली कांग्रेसका सांसदहरुले सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेको संलग्नता रहेको भन्दै संसदीय छानविन समिति गठन गर्न माग गर्दै आएको छ । सोही क्रममा कांग्रेसले केही दिनदेखि नै संसद्‍मा अवरोध गर्दै आएको छ । सोमबार पनि प्रधानमन्त्री दाहालले विश्वासको मत लिने क्रममा कांग्रेसका सांसदहरुले विरोध गरिरहेका थिए ।

तर प्रमुख प्रतिपक्षीको विरोधलाई बेवास्ता गर्दै सभामुख घिमिरेले संसदको कामकारवाही नियमित रुपमा सञ्चालन गरेका थिए । सभामुखको यही कार्यशैलीप्रति कांग्रेस नेताहरुले आपत्ति जनाउँदै आएका छन् ।


क्लिकमान्डु