गगनमाथि रवि लामिछानेको आक्रोश: विदेशी एजेन्टलाई सूचना बेचेकोदेखि क्याम्पसको पार्कसम्ममा प्रश्न



काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले नेपाली कांग्रेसका महामन्त्री गगन थापाको आलोचना गरेका छन् ।
आइतबार प्रतिनिधि सभा बैठकमा आफूमाथि लागेको आरोपबारे जवाफ दिने क्रममा लामिछानेले कांग्रेस महामन्त्री गगन थापाको नाम नलिइ गम्भीर आरोपहरु लगाएका छन् ।

रविले १५ वर्षदेखि संसदको लास्ट सीटदेखि फ्रन्ट सीटसम्म आइपुग्दा भ्रष्टाचारका सबै काण्डको साक्षी बसेर ठूलो स्वर गर्नेहरुलाई हेक्का हुनुपर्ने लामिछानेले बताए ।

‘यो देश अब तपाईंहरुको गनगनले मात्र चल्दैन । आफैं सरकारमा बसेर यसलाई बाहिर पठाउ, उसलाई बाहिर पठाउ भन्नुको साटो प्रमाण जुटाएर कारबाही गर्ने आँट गरेको भए हुन्थ्यो । अप्रमााणित हल्ला र मिडिया ट्रायललाई बोकेर संसदलाई लेक्चर दिनुभयो काम गर्नुभयो,’ लामिछानेले भने ।

उनले आरोप लागेका सबैमाथि जाँच हुन आवश्यक रहेको बताए । लामिछानेले गगन थापाको नाम नलिइ भने,’सहकारी ठगी गर्नेलाई मात्र होइन, कृषि अनुदानको रकम हिनामिना गरेर कुखुरा, माछा, खसीबोका, बाख्रा पाल्नेलाई पनि बाहिर पठाऔं ।’

आफूमाथि दुई तिनवटा नागरिकता लिएको आरोपमा केही समयअघि यस्ता व्यक्तिलाई संसदबाट बाहिर पठाउनु पर्ने भन्दै गगन थापाले केही समय अघि भनेको जवाफ दिँदै लामिछानेले भने, ‘ दुईतीन वटा नागरिकता बोक्नेलाई मात्र होइन, एउटै नागरिकता र पासपोर्ट बोक्ने, तर देशका गोप्य सूचना विदेशीलाई बेच्ने एजेन्ट र एसेट्सलाई पनि बाहिर पठाऔं, संसदबाट हटाऔं । जतिसुकै शक्तिशाली होस्, देशको मन्त्री होस् वा पार्टीको महामन्त्री किन नहोस् ।’

उनले त्रिचन्द्र क्यापसमा पार्क निर्माण गर्ने भनेर ३० लाख, वेवसाइट बनाउने भनेर ५ लाखका समाचार पनि आएको भन्दै त्यसको अनुसन्धान गर्नु पर्ने होर भन्दै प्रश्न गरे ।

उनले नाम उल्लेख नगरे पनि गगन थापा त्रिचन्द्रका सभापति भएको बेलालाई उनले लक्षित गरेका थिए ।
त्यस्तै कांग्रेस सांसद रामहरी खतिवडामाथि लागेको घडी चोरको आरोप, उपसभापति धनराज गुरुङमाथि लागेको रातो पासपोर्ट बेचेको आरोपमाथि पनि छानबिन हुनु पर्दैन र भन्दै लामिछानेले प्रश्न गरे ।

लामिछानेले मिडियाको हल्लासँग रास्वपा नतर्सिने बताए ।

‘रास्वपा कायरहरुको पार्टी होइन । रवि लामिछाने कायर होइन । मिडिया ट्रायल हामीसँग चल्दैन । मलाई खेल्न र हार्न समस्या छैन । तर खेल फेयर हुनुपर्छ । झूटा मुद्दासँग म डराउँदिन । म भूईंको मान्छे हो, भूईंसम्म निहुरिन सक्छु, तर झुक्न स्वीकार्य छैन,’ लामिछानेले भने ।


क्लिकमान्डु