देउवालाई लामिछानेको प्रश्न: डेढ वर्षका लागि मलाई गरेको प्रधानमन्त्रीको प्रस्ताव अझै बाँकी छ कि सकियो ?



काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले आँफू भुँइमान्छे भएकोले निहुरिन सक्ने भए पनि झुक्न नसक्ने चेतावनी दिएका छन् ।

आइतबार प्रतिनिधि सभाको बैठकमा सम्बोधन गर्दै लामिछानेले गोरखा मिडिया नेटवर्कमा प्रवन्ध निर्देशक भएको बेला आफूले स्वेत सेयर लिएर काम गरेको बताए । त्यसमा मिडियामा आएका र पत्रिकाको हेडलाइन हेरेर आफूलाई बोल्न नदिइएको बताए।

‘मिडियाको हेडलाइनले कायर डराउँछ रास्वपा डराउँदैन,’ लामिछानेले भने, ‘मिडिया ट्रायलले रास्वपा डराउँदै । भुँइको मान्छे भुँइसम्म नै निहुरिन सक्छु तर झुक्न सक्दिँन ।’

आफूलाई कांग्रेसबाट प्रधानमन्त्रीको प्रस्ताव आएको भन्दै उनले त्यसको जवाफ कांग्रेस सभापति शेरबहादुर देउवाले दिनु पर्ने बताए ।

‘डेढ वर्ष प्रधानमन्त्रीको प्रस्ताव अझै बाँकी छ कि सकियो ?,’ लामिछानेले प्रश्न गरे, ‘ कांग्रेस सभापतिले जवाफ दिनुपर्छ । प्रधानमन्त्री अफर गर्ने गृहमन्त्री बन्न किन मैले नहुने ?’

आफूले सहकारीको पैसा खाएको प्रमाण पेस भएको दिन राजनीति छोड्छु भनेको भन्दै लामिछानेले त्यो भनाइमा आफू अडिग रहेको बताए ।

‘पोखराको सूर्यदर्शन र बुटवलको सुप्रिम सहकारीमा रवि लामिछाने नामको व्यक्ति खडा गरेर ऋण प्रवाह भएको रहेछ । त्यसमा मेरो संलग्नता छैन्’ उनले भने ।


क्लिकमान्डु