सहकारी ठगीका विषयमा संसदीय समिति: टीओआरबारे आज छलफल



काठमाडौं । सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्षी दल संसद्को गतिरोध अन्त्य गर्न सहकारी ठगीका विषयमा संसदीय छानबिन समिति गठनका लागि सहमत भएका छन् ।

शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धन र नेपाली कांग्रेसका शीर्ष नेताहरुबीचको छलफलमा संसदीय छानबिन समिति गठन गर्न दलहरु सहमत भएका हुन् ।

कांग्रेस प्रमुख सचेतक रमेश लेखकले छानबिन समितिको कार्यादेश (टिओआर) का विषयमा आइतबार बिहान छलफलपछि हुँदैछ । आज विहानको बैठकमा छलफलपछि टिओआर टुङ्गो लगाइने छ ।

‘सदनमा भइरहेको गतिरोध अन्त्यका लागि छानबिन समिति बनाएर जानुपर्छ भन्नेमा सकारात्मक छलफल भयो । सँगसँगै समितिको कार्यादेश के हुने भन्ने विषयमा पनि काम गर्ने कुरा भएको छ । समिति गठन गरेर जाने भन्नेमा सबै राजनीतिक दलहरुबीच समान धारणा बनेको छ । यसलाई उपलब्धीमूलक र सकारात्मक नै मान्नुपर्छ’, लेखकले भने ।

छानबिन समितिको कार्यादेश निर्माणका लागि कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले सहजीकरण गर्ने र सबै दलका नेताहरु बसेर त्यसलाई मूर्तरुप दिइने पनि उनले बताए ।

छानबिन समिति गठन गर्ने सहमति भएसँगै समितिको कार्यादेश निर्धारणका लागि तयारी थालिएको र भोलिको संसद् बैठक सहजरुपमा अघि बढ्ने विश्वास लिइएको उनको भनाइ छ ।

छानबिन समिति गठन गर्ने विषयमा शनिबार चरणवद्धरुपमा छलफल भएको थियो । सुरूमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सभामुख देवराज घिमिरे, नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली, उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने, कानुनमन्त्री पदम गिरीलगायतसँग छलफल गरेका थिए ।

सभामुखसँगको छलफलपछि प्रधानमन्त्री दाहालसहित सत्तारुढ दलका नेताहरुले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, महामन्त्री गगन थापा, प्रमुख सचेतक लेखकलगायतसँग छलफल गरेका थिए ।

उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने सहकारीको रकम हिनामिनामा मुछिएको विषयमा संसदीय छानबिन समिति गठन गरिनुपर्ने मागसहित कांग्रेसले संसद्मा अवरोध गर्दै आएको थियो ।


क्लिकमान्डु