संसदमा अप्रिय स्थितिको जिम्मेवारी सभामुखले लिनुपर्छः कांग्रेस महामन्त्री



काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संसदभित्र अप्रिय स्थितिको सिर्जना भएको भन्दै त्यसको जिम्मेवारी सभामुखले लिनुपर्ने बताएका छन् ।

प्रतिनिधि सभा बैठकपछि पत्रकार सम्मेलन गर्दै महामन्त्री थापाले संसदभित्र अप्रिय स्थितिको सिर्जना भएको भन्दै सभामुखको कारण त्यस्तो स्थिति आएको बताएका हुन् । उनले सभामुखले सत्तारुढ दलका तीन पार्टीका अध्यक्षहरुसँग परामर्श गरेर उनीहरुको निर्देशन अनुरुप बैठकमा कांग्रेसलाई पेलेर अगाडी बढेको आरोप लगाए ।

संसदमा जबर्जस्ति कार्यसूची प्रवेश गराएर सभामुखले अप्रिय र अनपेक्षित स्थिति सिर्जना गरेको उनको आरोप छ । सभामुखले आफ्नो निष्पक्ष भूमिका निर्वाह गर्न चुकेको उनको भनाइ छ ।

गगन थापाले यसो भने

आज सदनमा जे दृश्य देखियो । यो सन्दर्भमा सभामुखले सदनको सभामुखको जिम्मेवारीबाट जुन भुमिका निर्वाह गर्नुपर्ने हो । त्यो निर्वाह गर्न सर्वथा चुक्नुभएको भन्ने हाम्रो ठहर रहेको छ । सदनमा सत्तापक्ष, प्रतिपक्षको बिचमा कयौँ विषयहरुमा कुराकानी मिल्दैन । र सदनमा सभामुखलाई दलगत आवद्धताबाट मुक्त भएको र आफ्नो पुरानो दलगत रुझानहरुबाट पूर्ण रुपमा अलग्ग भएर तटस्थ भुमिका निर्वाह गर्ने एउटा अभिभावकको रुपमा अपेक्षा गरेका हुन्छौँ ।

हामीले आज सभामुखलाई बिहानैपनि हामीले गरिरहेका प्रयासहरुका बारेमा जानकारी गराएका थियौँ । अहिले पनि संसदीय छानविन समितिको सन्दर्भमा भइरहेको घटना विकासक्रमको बारेमा जानकारी गराएका थियौँ । आज सदनको बैठक प्रारम्भ भइसके पछाडी सदनको काम, कारबाही अगाडी बढ्न सक्दैन भनेर हामीले आफ्नो बिरोध प्रकट गर्‍यौँ ।

आज प्रमुख प्रतिपक्षी दल त वेलमा पुगेको थियो नै । आज सदनभित्र अन्य सबै प्रतिपक्षी बेञ्चमा रहेका प्रायः सबै दलका माननीयहरु आज उठ्नुभएको अवस्था थियो । प्रमुख प्रतिपक्ष दल वेलमा पुगेको र संसदभित्रका अन्य सम्पूर्ण प्रतिपक्ष दलहरु उभिइरहेको अवस्थामा सभामुखले त्योभन्दा अगाडी सत्तापक्षको तीनवटा पार्टीका अध्यक्षहरुसँग परामर्श गरेर आएर जे जति कुराहरु सदनभित्र गराउनका निम्ति निर्देशन दिइयो । हुबहु त्यसको पालना गरेको देखियो ।

कांग्रेसको अवरोधको बाबजुद पनि सदन अगाडी बढ्छ भन्ने हिजो एमालेको अध्यक्षले त्यसका बारेमा हुंकार गर्नुभएको र त्यसलाई पुरा गर्नका निम्ति सभामुखको पदको जिम्मेवारी पूरा भएको दृश्य आज हामीले सदनमा देख्यौँ । आज सदनभित्र जे अप्रिय स्थितिको सिर्जना भयो यसको मुल जिम्मेवारी सभामुखले लिनुपर्छ । किनकी सदनमा जर्बजस्ति विषय कार्यसूचीमा प्रवेश गराएर एक प्रकारको अप्रिय, अनपेक्षित स्थितिको सिर्जना गर्ने कामको मुल जिम्मेवारी सभामुखले लिनुपर्छ ।

सभामुख एउटा पार्टीको नेताको आदेश पालकको रुपमा उहाँको भुमिका यसरी रहने कुरा हाम्रो निम्ति दुःखको विषय हो । सभामुखलाई हामी उहाँको भुमिकाप्रति जिम्मेवारीपूर्ण ढंगबाट निर्वाह गर्नका निम्ति सचेत गराउन चाहन्छौँ ।

आज सभामुखले गर्नुभएको व्यवहार र जर्बजस्ती सरकारी काम, कारबाही अगाडी बढाउन खोजिसके पछाडी हामीले आफ्नो ठाउँबाट सरकारको काम, कारबाही अगाडी बढाउन नदिने कुरा राख्ने हाम्रो कोशिस हो । तर एमालेका अध्यक्षज्यू एउटा कुरामा झुक्किनु भयो जस्तो लाग्यो ।

उहाँले कांग्रेसका सांसदहरुलाई आफ्नो कार्यकर्ता ठान्नुभयो जस्तो लाग्यो । एमालेका सांसदहरुलाई उहाँको कुरा हो, उहाँले हप्काउने, धम्क्याउने, तर्साउने, उठबस गराउने उहाँले त्यो अधिकार राख्नहुन्छ होला । उहाँहरुको सम्बन्ध पनि त्यस्तै होला । तर नेपाली कांग्रेस पार्टीका बारेमा त्यो नसोच्नु होला ।

कांग्रेसका सांसदका बारेमा पनि त्यो नसोच्नु होला । हामी तपाइका कार्यकर्ता होइनौँ । हामी तपाईलाई सम्मान गर्छौ । तपाईले हामीलाई अह्राउने होइन भन्ने कुरा जानकारी गराउन चाहान्छौँ । हामी सदनमा मुठभेडको स्थिति सिर्जना होस् भन्ने हामी कहिलेपनि चाहँदैनौँ ।

साथिहरुले के कुरा बिर्सनुभयो कि भन्ने लाग्छ । हामी सरकारमा छौँ भन्नेकुरा बिर्सनुभयो कि भन्ने लाग्छ । कुन कुन फाइलहरु खोल्नुपर्ने हो । ति सबै फाइलहरु खोल्नुभए हुन्छ । खोलौँ । खोल्नैपर्छ । हामी त संसदमा प्रस्तावित भएको अख्तियारको र भ्रष्टाचार निवारण सम्बन्धी ऐनमा पाँच वर्ष पछाडी हदम्याद हुन्छ है, त्यो भन्दा पछाडी सार्वजनिक जिम्मेवारीमा बसेका मानिसहरुले गरेको भ्रष्टाचार विषयको सम्बन्धमा थप लाग्दैन भन्दैगर्दा भ्रष्टाचारको विषयमा हदम्याद लागु हुनु हुँदैन ।

सय वर्ष पछि भएपनि सार्वजनिक जिम्मेवारीमा बसेको छ भने त्यसको फाइल खोल्नुपर्छ भनिरहेका छौँ । अहिले सरकारमा बसेका साथीहरुले त धमाधम खोले हुन्छ । गिरिबन्धुको फाइल खोल्नु । सबै फाइल खोल्नु । कुनै बेला अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पूर्वप्रमुख हुनुहुन्थ्यो, अलिकति बाहिर कुनै विषय उठायो भने म तेरो नि फाइल खोल्दिन्छु, तेरो नि खोल्दिन्छु भनेको कुरा सम्झिरहेको छु । सरकारमा बस्नेले म यो खोलिदिन्छु । त्यो खोलिदिन्छु भन्ने होइन।


क्लिकमान्डु