रविमाथि संसदीय समिति बनाउन जुटेन सहमति, कांग्रेसले संसद बैठक अवरोध गर्ने



काठमाडौं । गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठन गर्न दलहरुका बीचमा सहमति नजुटेपछि प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले संसद बैठक अवरोधलाई निरन्तरता दिने भएको छ ।

आज बिहान ११ बजे बस्ने बैठक स्थगित गरेर सहमति जुटाउन भन्दै दिउँसो ४ बजेका लागि प्रतिनिधि सभा बैठक बोलाइएको थियो ।

दलहरुका बीचमा सहमतिको प्रयास भएको भए पनि नेपाली कांग्रेसले भने अनुरुपको संसदीय छानबिन समिति बनाउन सत्तारुढ दलहरु (सरकार) तयार नभएपछि कांग्रेसले अवरोध कायम राख्ने भएको छ ।

सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै नेपाली कांग्रेसकी सचेतक सुशिला थिङले सहमतिको बिन्दुमा पुग्न नसकिएको बताए । उनले सहमति जुट्न नसकेका कारण कांग्रेसले आफ्नो मागलाई यथास्थितिमा राख्दै बैठक अवरोध राख्ने जानकारी दिइन् ।

त्यस्तै सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै नेपाली कांग्रेसका सांसद डा. प्रकाशशरण महतले सरकार सहकारी ठगी प्रकरणमा छानबिन गर्न तयार भए पनि गृहमन्त्री रवि लामिछाने केन्द्रित भएर छानबिन गर्न तयार नभएको बताए ।

उनले गृहमन्त्री लामिछानेकेन्द्रित छानबिन गर्नुपर्ने आफूहरुको मागमा सहमति नजुटेको कारण कुरा नमिलेको बताए ।


क्लिकमान्डु