सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी हुन एमालेलाई माधव नेपालको आग्रह



काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी हुन नेकपा एमालेसँग आग्रह गरेका छन् ।

बिहीबार पार्टी केन्द्रीय कार्यालय आलोनगरमा भएको पत्रकार सम्मेलनका क्रममा सञ्चारकर्मीहरुले उठाएको प्रश्नको जवाफ दिँदै अध्यक्ष नेपालले सुदूरपश्चिम प्रदेशमा आज मुख्यमन्त्री दीर्घ सोडारीले विश्वासको मत लिन लागेको भन्दै विश्वासको मत मात्रै दिने नभइ सरकारमा सहभागी हुन समेत नेकपा एमालेलाई आग्रह गरे ।

मुख्यमन्त्रीलाई विश्वासको मत दिन सबै पार्टीले सहयोग गर्ने विश्वास व्यक्त गर्दै विश्वासको मत दिएर सरकारलाई अघि बढाउने मात्रै नभइ मन्त्रीमण्डलमा सहभागी भइ सहकार्य गर्नका लागि उनले आह्वान गरे ।

कोशी प्रदेशमा आफ्नो पार्टीले विश्वासको मत दिएको उनले बताए । आफ्नो पार्टी अहिलेको सरकारकै भलो चाहने पक्षमा रहेको नेपालको भनाइ छ ।

माधव नेपालले यसो भने

यो सत्ता समीकरणमा हाम्रो पार्टी पनि सामेल छ । केन्द्रिय सरकारमा पनि छ र प्रदेश सरकारमा पनि छ । आजमात्रै पनि सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री हुनुहुन्छ, उहाँले विश्वासको मत प्राप्त गर्नुपर्ने कार्यसूचि छ ।

सबै सम्बन्धित पार्टीबाट सहयोग प्राप्त गर्नेछाँै भन्ने लागेको छ । विश्वासको मत दिएर सरकारलाई अघि बढाउने मात्रै होइन, यसलाई सहभागी समेत भएर मन्त्रीमण्डलमा सहभागी भएर सहकार्य गर्नका लागि आह्वान गर्न चाहन्छौँ । कोशी प्रदेशमा विश्वासको मत हामीसँग कुरा भएर नयाँ सरकार बनेको होइन, परामर्श हामीसँग भएको भए राम्रो हुन्थ्यो । हामीले विश्वासको मत दिएका छौँ, चलिरहेको छ ।

मधेस प्रदेशमा जनतास माजवादी पार्टी, नेपालसँग सहकार्य रही रहेकाले त्यसलाई ध्यानमा राखेर मधेस सरकारमा संलग्नता कायम राख्दै अघि बढिरहेका छौँ । पार्टीहरुको बीचमा एकता होस्, सहकार्य होस् भन्ने चाहना छ । मुलुक सञ्चालनको क्रममा सरकार सम्पूर्ण रुपमा जनताप्रति बफादार भएर जनसेवाको काममा जुटेर विकास निर्माणको काममा लागोस् । यो सरकारको भलो चाहन्छौँ ।


क्लिकमान्डु