१२७ वर्ष पुरानो गोदरेज ग्रुपको अंशबन्डा: यस्तो छ चाबीदेखि चन्द्रयानसम्मको यात्रा



ताला-चाबी बनाउने कामबाट सुरु गरेको भारतीय कम्पनी गोदरेज ग्रुपको व्यावसायिक यात्रा स्वतन्त्रतापछिको चुनावी मतपेटिका मर्मत गर्दै चन्द्रयान ३ सम्म जोडिएको छ

एजेन्सी । सबैभन्दा पुरानो व्यवसायी घरानाको रुपमा चिनिने गोदरेज परिवार पछिल्लो समय विभाजनका कारण चर्चामा छ। चाबीदेखि रियल इस्टेट व्यावसायमा १२७ वर्ष पुरानो व्यावसायिक अनुभव रहेको यस घराना अब भागवन्डाको क्रममा छ ।

आदि गोदरेज र उनका भाई नादिरको स्वामित्वमा गोदरेज ग्रुपका ५ लिस्टेड कम्पनी छन् । जसमध्ये गोदरेज कन्ज्युमर प्रडक्ट, गोदरेज प्रपर्टी, गोदरेज इन्डस्ट्री, गोदरेज एग्रोभेट र एस्टेक लाइफ साइन्सेस दुई भाईले सम्हाल्ने छन् ।

यस्तै गोदरेज जमशेद र उनकी बहिनी स्मिताको नाममा भने अनलिस्टेड कम्पनीहरु बैंकको पूरा हिस्सा पर्ने भएको छ । तर विशाल व्यावसायिक घरानाको रुपमा विश्वभर चर्चित बनेको यो समूह सुरुमा ताला-चाबी बनाउने कामबाट व्यावसायिक प्रारम्भ गरेको हो ।

भारतमा पहिले जति पनि ताला-चाबी आयात हुन्थ्यो त्यो सबैजसो बेलायतबाट आउने गर्थ्यो । तर तालाको स्प्रिङ प्राय टुट्ने समस्या थियो । यस्तो समस्यालाई अवसरको रुपमा प्रयोग गर्दै गोदरेजले आफ्नो चाबी निर्माण गर्न थालेको थियो । गोदरेजको चाबी सस्तो पनि थियो ।

गोदरेज ग्रुपको स्थापना अर्देशिर गोदरेजले गरेका थिए । उनी पेशाले वकिल थिए । तर १८९७ मा वकालत छाडेर ताला-चाबीको कारोबार सुरु गरेका थिए । यसअघि उनले सर्जिकल उपकरणको कारोबार पनि गरेका थिए । जुन व्यावसाय फस्टाउन नसकेपछि अर्देशिरले छाडे ।

अर्देशिर भारतको स्वतन्त्रता संग्रामका एक सहयोगी पनि थिए । उक्त विशाल आन्दोलनबाट प्रेरित भएर छवि नामबाट १९१८ मा साबुन लन्च गरे । जुन पहिलो भेजिटेबल साबुन थियो । र यसमा जनावरको फ्याटको प्रयोग हुँदैनथ्यो ।

अलमारीको कारोबार

गोदरेज ग्रुपले १९२३ मा अलमारी बनाउन सुरु गरे । यस समयमा भारतमा चोरीका घटना बढ्दै गरेको थियो । गोदरेज भने अलमारीमा लकर पनि बनाउँथे । लकरवाला अलमारी छोटो समयमै ग्राहकहरुमाझ लोकप्रिय पनि भयो ।

१९५१ मा भारतमा भएको चुनावमा मतपेटिका बनाउने अर्डर गोदरेजलाई नै दिइयो । गोदरेज ग्रुपले उक्त चुनावका लागि १७ लाख मतपेटिका बनाएका थिए । कम्पनीले विस्तारै फ्रिज, रियल इस्टेट, एग्रीकल्चर हुँदै स्पेस सेक्टरमा पनि आफ्नो उपस्थिति जनाउन थालेको छ।

चन्द्रयान-३ मिसनसँग सम्बन्ध

चन्द्रयान ३ मिसनसँग गोदरेज एरोस्पेसको विशेष सम्बन्ध पनि छ । गोदरेज एरोस्पेस इसरोमा स्पेशल लन्च भेहिकलका लागि लिक्विड इन्जिनको एकलौटी निर्माता हो । यस कम्पनीले इन्जिन वाहेक सेटेलाइट एप्लिकेसनका लागि कम्प्लेक्स थर्स्टको पनि सप्लाइ गर्छ । यससँगै कम्पनीले लन्च भेहिकलका लागि क्रयोजेनिक र सेमी क्रायोजेनिक इन्जिनका लागि कम्प्लेक्स पनि तयार पार्छ ।

यसकारण विभाजन
आदि गोदरेज परिवारमा यथास्थिति बनाएर राख्ने पक्षमा थिए । तर परिवारको नयाँ पुस्ताका सदस्यहरु स्वामित्व अधिकारलाई लिएर स्पस्ट हुन चाहन्थे।

परिवारका सदै सदस्यहरुको एकआपसको कम्पनीको हिस्सा र बोर्डमा प्रतिनिधित्व हुनेगर्छ । परिवारका सदस्यहरु र परिवार कोषबीच ठूलो क्रस होल्डिङ छ । जसलाई छुट्याउन जरुरी देखिएको थियो । जसकारण भारतीय विशाल कम्पनी विभाजनको अवस्थामा पुगेको बताइन्छ ।


क्लिकमान्डु