चौधरीको वाइवाइ चाउचाउ उद्योगमा दुर्गा प्रसाईं समूहको आक्रमण



काठमाडौं । चौधरी ग्रुपद्वारा सञ्चालित सीजी फुड्स पार्क, भैंसेपाटीमा मेडिकल व्यवसायीसमेत रहेका अभियान्ता दुर्गा प्रसाईं समूहले आक्रमण गरेको छ ।

शुक्रबार दिउँसो ३ बजेतिर बस रिजर्भ गरेर आएका दुर्गा प्रसाईं नेतृत्वको समूहले आक्रमण गरेको हो । प्रहरी उच्च स्रोतका अनुसार दुर्गा प्रसाईं नेतृत्वको समूहले सीजी फुड्स पार्कमा आक्रमण गरेको हो ।

‘बसनै रिजर्भ गरेर लघुवित्त पीडित बताउने महिला र पुरुषलाई प्रसाईंको समूहले उतारेको देखिएको छ,’ प्रहरी स्रोतले भन्यो, ‘यसबारे हामीले थप अनुसन्धान गरिरहेका छौं ।’

बा ४ ख १०८५ नम्बरको बसमा आएको समूहले फुड्स पार्कमा कार्यरत कर्मचारीमाथि हातपात गर्नुका साथै भौतिक सम्पत्तिमाथि तोडफोड गरेको चौधरी ग्रुपका प्रवक्ता मधुसूदन पौड्यालले जानकारी दिए ।

‘बसमा आएको समूहले कर्मचारीमाथि हातपातका साथै भौतिक सम्पत्ति तोडफोड गरे,’ पौडेलले भने,’महिला कर्मचारीमाथि समेत हातपात हुन थालेपछि उहाँहरू प्रतिकारमा उत्रिनुभयो ।’

तोडफोडमा उत्रिएका २४ जनालाई प्रहरीले नियन्त्रणमा लिइएको भैंसेपाटी प्रहरी वृत्तका प्रहरी निरीक्षक अनिल बैठाले जानकारी दिए ।

‘सीजी फुड्स पार्क, भैंसेपाटीमा प्रदर्शनमा उत्रिएका २४ जनालाई हामीले नियन्त्रणमा लिएका छौं,’ उनले क्लिकमान्डुसँग भने,’त्यसमध्ये १७ जना महिला र ७ जना पुरुष रहेका छन् ।’

बस रिजर्भ गरेर आएको समूहबारे आफूहरुले अनुसन्धान गरिरहेको ललितपुर प्रहरी प्रमुख प्रज्ज्वल महर्जनले बताए ।

‘सीजीको फ्याक्ट्रीको अगाडि गाडी रिजर्भ गरेर आएकाहरुको समूहले होहल्ला र प्रदर्शन गरेको छ,’ उनले भने, ‘प्रहरीहरु त्यही भएकाले अप्रिय घटना हुन पाएन । हामीले बसका चालक, सहचालकसहित २४ जनालाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेका छौं ।’

फुड्स पार्कमा प्रवेश गरेका उनीहरुले सरकारविरुद्ध नाराबाजी गर्दै चौधरी ग्रुपका व्यवस्थापकहरूप्रति अभद्र एवं असभ्य व्यवहार प्रदर्शन गरेको पौड्यालले बताए ।

चौधरी समूहले घटनाको निन्दा गरेको छ ।

देशको प्रमुख औद्योगिक घरानाद्वारा सञ्चालित उद्योगमाथि भएको आक्रमण निन्दनीय रहेको चौधरी ग्रुपले जनाएको छ । यस्ता घटनाले देशको औद्योगिक वातावरणमा नराम्रो असर पर्ने चौधरी ग्रुपको भनाइ छ ।

‘घटनाको हामी भर्त्सना गर्दछौँ । यस घटनाले देशको औद्योगिक वातावरणलाई अत्यन्तै नराम्रो असर पुऱ्याउन सक्नेतर्फ सचेत रहन हामी सम्वन्धित सबै निकायको ध्यानाकर्षण गराउँदछौं,’ चौधरी ग्रुपले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘ घटनामा संलग्न व्यक्तिहरूमाथि कानूनी कारबाही गर्न नेपाल सरकारसमक्ष अनुरोध गर्दछौं । साथै, भविष्यमा यस्ता घटना घट्न नदिन एवं औद्योगिक वातावरण कायम राख्नका लागि तत्काल पहल गर्न पनि हामी सम्वन्धित सबै निकायको गम्भिर ध्यानाकर्षण गराउँदछौं।’

प्रसाईं पछिल्लो समय बैंकको ऋण नतिर्ने अभियान चलाउनुका साथै नेता तथा व्यवसायीमाथि व्यक्तिगत लाञ्छाना लगाउने कार्यमा सक्रिय छन् । यसअघि प्रसाईंकै समूहले झापामा नेपाल इन्भेष्टमेन्ट मेघा बैंकका शाखा उपप्रबन्धकलाई स्वीकृत भएको ऋण नदिएको भन्दै नियन्त्रणमा लिएको थियो ।


क्लिकमान्डु