सीजी फुड्स पार्कमा आक्रमणपछि चौधरी ग्रुपले भन्यो: औद्योगिक वातावरणमा नराम्रो असर पुर्‍याउँछ



काठमाडौं । चौधरी ग्रुपद्वारा सञ्चालित सीजी फुड्स पार्क, भैंसेपाटीमा अज्ञात समूहले आक्रमण गरेको छ ।

शुक्रबार दिउँसो ३ बजेतिर बा ४ ख १०८५ नम्बरको बसमा आएको समूहले फुड्स पार्कमा कार्यरत कर्मचारीमाथि हातपात गर्नुका साथै भौतिक सम्पत्तिमाथि तोडफोड गरेको चौधरी ग्रुपले जनाएको छ ।

फुड्स पार्कमा प्रवेश गरेका उनीहरुले सरकारविरुद्ध नाराबाजी गर्दै चौधरी ग्रुपका व्यवस्थापकहरूप्रति अभद्र एवं असभ्य व्यवहार प्रदर्शन गरेको सीजी ग्रुपका प्रवक्ता मधुसूदन पौड्यालले जानकारी दिए ।

सीजी फुड्स पार्कमा कार्यरत महिला कर्मचारीमाथि समेत हातपात हुन थालेपछि फुड्स पार्कमा कार्यरत महिला कर्मचारीहरू प्रतिकारमा उत्रिएका थिए । महिला कर्मचारीले प्रतिवाद गरेपछि आक्रमणकारीहरू त्यहाँबाट पछि हटेका थिए ।

उक्त समूहलाई भैंसेपाटी प्रहरी प्रभागले नियन्त्रणमा लिएको छ ।

देशको प्रमुख औद्योगिक घरानाद्वारा सञ्चालित उद्योगमाथि भएको आक्रमणको घटना अत्यन्तै निन्दनीय रहेको चौधरी ग्रपले जनाएको छ ।

‘घटनाको हामी भर्त्सना गर्दछौँ । यस घटनाले देशको औद्योगिक वातावरणलाई अत्यन्तै नराम्रो असर पुऱ्याउन सक्नेतर्फ सचेत रहन हामी सम्वन्धित सबै निकायको ध्यानाकर्षण गराउँदछौं,’ चौधरी ग्रुपले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘ घटनामा संलग्न व्यक्तिहरूमाथि कानूनी कारबाही गर्न नेपाल सरकारसमक्ष अनुरोध गर्दछौं । साथै, भविष्यमा यस्ता घटना घट्न नदिन एवं औद्योगिक वातावरण कायम राख्नका लागि तत्काल पहल गर्न पनि हामी सम्वन्धित सबै निकायको गम्भिर ध्यानाकर्षण गराउँदछौं।’


क्लिकमान्डु