चाडपर्वका कारण ८ अर्ब रुपैयाँको गाडी आयात



वीरगञ्ज, । हिन्दूहरुको महान् चाड दशैं, तिहार र छठ पर्वलाई लक्षित गरी व्यापारीले चालू आर्थिक वर्षको साउन र भदौ महिनामा भारतबाट आठ अर्ब रुपैयाँ बराबरको भारतीय सावारी साधन नेपाल भित्र्याएका छन् ।

भारतीय सवारी साधन नेपाल भित्रिएपछि वीरगञ्ज भन्सार कार्यालयलाई कूल राजश्वको करिब ३० प्रतिशत ती सवारी साधनबाट उठेको सो भन्सारका सूचना अधिकारी सन्तोष यादवले जानकारी दिए।

कार्यालयका अनुसार चालू आवको साउन र भदौमा भारतबाट दुई करोड सात लाख तीन हजार रुपैयाँका ३० वटा बस, १२ करोड ७७ लाख ८६ हजार रुपैयाँका ६३ थान मिनी बस, २१ लाख रुपैयाँ बराबरको एक थान माइक्रो बस, तीन अर्ब ६२ करोड ७१ लाख ३६ हजार रुपैयाँका दुई हजार २८५ थान जिप, कार भ्यान, २७ करोड २५ लाख रुपैयाँ बराबरका २१८ थान डबल क्याप पिकअप तथा २० करोड १६ लाख रुपैयाँ बराबरका २८७ थान सिंगल क्याप पिकअप नेपाल भित्रिएको छ ।

यसैगरी, सोही अवधिमा भारतबाट २५ करोड ४६ लाख ४१ हजार रुपैयाँ बराबरका २८३ थान मिनी ट्रक, ४८ करोड ८७ लाख ४४ हजार रुपैयाँका ६३४ थान बस तथा दुई अर्ब ७१ करोड ६७ लाख ५१ हजार रुपैयाँका ३५ हजार ८१४ थान विभिन्न कम्पनीका मोटरसाइकल नेपाल भित्रिएको छ ।

दशैँ, तिहार तथा छठमा विक्रेताले विभिन्न प्रकारका उपहार योजना राख्ने भएकाले बिक्री बढ्न जाँदा वीरगञ्ज नाकाबाट यति ठूलो परिमाणमा सवारी साधन नेपाल भित्रिएको हो । आव २०७३/७४ को साउन र भदौमा छ अर्ब ५० लाख रुपैयाँ मूल्य बराबरको विभिन्न प्रकारका गाडी नेपाल भित्रिएका उक्त भन्सार कार्यालयले जनाएको छ ।


क्लिकमान्डु