नेपालको आर्थिक वृद्धिदर प्रक्षेपणमा एडीबी संयमित, ३.६ प्रतिशतमात्र हुने



काठमाडौं । चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ३.६ प्रतिशतले हुने प्रक्षेपण एशियाली विकास बैंकले गरेको छ । एशियन डेभलपमेन्ट आउटलुक सार्वजनिक गर्दै एडीबीले यस वर्ष आर्थिक वृद्धि ‘गति लिने’ उल्लेख गरेको हो ।

यस वर्षको प्रक्षेपित आर्थिक वृद्धिदर एडीबीले सप्टेम्बरमा गरेको अनुमानभन्दा कम हो । गत सेप्टेम्बरमा सार्वजनिक भएको आउटलुककमा यस वर्ष अर्थतन्त्र ४.३ प्रतिशतले विस्तार हुने अनुमान गरिएको थियो ।

गत आर्थिक वर्ष नेपालको अर्थतन्त्र १.८६ प्रतिशतले विस्तार भएकामा यस वर्ष वृद्धिदर बढ्ने अनुमान एडीबीको छ । गत वर्ष महामारीमा सरकारले दिएको राहत विस्थापित भएको, महँगी बढेको र तेल तथा अन्य वस्तुको मूल्यको प्रभाव परेको थियो । यस वर्षभने आन्तरिक खपत विस्तारै बढेको, जलविद्युत् उत्पादन बढेको र पर्यटन क्षेत्रमा पुनरुत्थान भएको भन्दै एशियाली विकास बैंकले आशावादी प्रक्षेपण गरेको हो । यस वर्षको उत्साह आगामी वर्ष पनि कायम रहँदै सन् २०२५ मा नेपालको आर्थिक वृद्धिदर ४.८ प्रतिशत हासिल हुने एडीबीको प्रक्षेपण छ ।

अर्कातर्फ नेपालको महँगी दर विस्तारै सिथिल हुने प्रक्षेपण बैंकले गरेको छ । तेलको मूल्य घटेको सकारात्मक प्रभाव महँगी दरमा देखिने र व्यापार घाटा घट्नाले तथा विप्रेषण बढ्नाले चालु खाता घाटा खुम्चने अनुमान बैंकको छ ।

बैंकले नेपाल अतिकम विकसित मुलुकबाट स्तरोन्नती हुन व्यापार सहजीकरणको प्रयास बढाउनुपर्ने सुझाव समेत दिएको छ ।
गत वर्ष एशियाली विकास बैंकले नेपालको आर्थिक वृद्धिदर ४.१ प्रतिशतले हुने प्रक्षेपण गरेको भए पनि वास्तविक वृद्धिदर १.८६ प्रतिशत काय भएको थियो ।

एक वर्ष अघिको आउटलुकमा सन् २०२४ मा ५ प्रतिशतले अर्थतन्त्र विस्तार हुने अनुमान गरिएको थियो । यस वर्ष भने बैंकले संयमित भएर प्रक्षेपण गरेको हो ।


क्लिकमान्डु