डेढ लाख घुस लिइरहँदा पोखरा महानगरकी सब-इन्जिनियर उषाकिरणसहित दुई जना पक्राउ



पोखरा । सेवाग्रहीसँग घुस लिँदै गरेको अवस्थामा पोखरा महानगरपलिकाकी सब-इन्जिनियरसहित दुई जना पक्राउ परेका छन्।

पोखरा महानगरपालिकाको नक्शा शाखामा कार्यरत सब-इन्जिनियर उषाकिरण रोकाया र गोदार कन्सल्टेन्सीमा कार्यरत सुरज कुँवरलाई सेवाग्रहीसँग घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको गण्डकी प्रदेश कार्यालय पोखराबाट खटिएको टोलीले घुस रकमसहित पक्राउ गरेको हो ।

उनीहरुको साथबाट सेवाग्रहीसँगबाट घुसबापत लिएको डेढ लाख रुपैयाँ पनि बरामद भएको छ । उनीहरुले घर सम्पन्न प्रमाणपत्र दिनका लागि डेढ लाख रुपैयाँ मागेका थिए । अख्तियारको टोलीले कुँवरलाई पोखराको महेन्द्रपुल नजिकबाट र सब-इन्जिनियर रोकायालाई पोखराको मालेपाटनबाट नियन्त्रणमा लिएको हो ।

पोखरा ५ का अध्यक्ष विष्णुप्रसाद बरालकाअनुसार अहिले प्रारम्भिक अनुसन्धान जारी रहेको छ । उनले पोखरा महानगरपालिका वडा नम्बर १० मा सम्पन्न घरको नक्शा दिनका लागि आर्थिक लेनदेन भएको बताए । त्यस्तै पोखरा महानगरपालिका वडा नम्बर ४ का सदस्य प्रकाश कोईरालाले एक जनाबाट डेढ लाख रुपैयाँ बरामद भएको जानकारी दिए ।

पक्राउ परेकाहरुलाई प्रक्रिया पूरा गरी कारबाही गरिने अख्तियारले जनाएको छ ।


क्लिकमान्डु