देशको अर्थतन्त्र धराशायी बनेकाले कसरी सुधार गर्ने भन्नेमा सरकार चिन्तित छ: मन्त्री गिरी



कास्की । सङ्घीय सरकारका कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले नयाँ समीकरणबाट बनेको वर्तमान सरकारले जनतामा आशा जगाउने काम मात्र गर्ने बताएका छन् ।

प्रेस चौतारी कास्कीद्वारा पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा मन्त्री गिरीले भने, ‘केही वर्षयता सरकार र राजनीतिक पार्टीप्रति जनतामा पैदा भएको निराशालाई मेटेर सरकार र दलहरुप्रति हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउने छौँ ।’ सङ्कटमा आएको सरकार भएकाले जनातामा आशा जगाउने काम गरेरै छाड्ने उनको भनाइ थियो ।

देशको अर्थतन्त्र धराशायी, विकास निर्माणको काम सुस्त, सुशासन प्राप्त गर्न नसक्नु, निर्माणधीन काम अलपत्र र व्यवसायी सङ्कटमा परेको वर्तमान अवस्थामा यसलाई कसरी सुधार गरेर अगाडि बढ्ने भन्ने बारेमा सरकार चिन्तित रहेको मन्त्री गिरीले बताए । उनले भने, ‘देशको अर्थतन्त्रलाई चलायमान र जनतामा समृद्धि ल्याउन सरकार सक्रिय भएर लाग्छ ।’

सङ्घीय सरकारद्वारा अधिकांश कानुन बनाउन बाँकी रहेको अवस्थामा संसदीय समितिलाई सक्रिय बनाउँदै छिटोभन्दा छिटो सङ्घीयता र नेपाली जनतालाई अनुकूल हुने ऐन कानुन ल्याउने मन्त्री गिरी बताए । ऐन कानुन निर्माण गर्दा नेपाली जनताका सुझाव पनि सङ्कलन गरिने र उपयुक्त सुझावलाई समेट्ने जानकारी पनि उनले दिए ।


क्लिकमान्डु