अर्थमन्त्रालयमा सरुवा: बजेटमा शाक्य, भन्सारमा निरौला र राजस्वमा तिवारी



काठमाडौं । अर्थ मन्त्रालयका सहसचिवहरूको जिम्मेवारी हेरफेर भएको छ । अर्थमन्त्री वर्षमान पुनले मन्त्रालय मातहतका विभाग र महाशाखा प्रमुख हेरफेर गरेका हुन् ।

मन्त्रालय स्रोतका अनुसार शिवलाल तिवारी आन्तरिक राजस्व विभागको महानिर्देशक बनेका छन् भने भन्सार विभागमा डुण्ढी निरौला पुगेका छन् । राजस्व व्यवस्थापन महाशाखा प्रमुख रहेका रितेश कुमार शाक्यलाई बजेट तथा कार्यक्रम महाशाखामा लगिएको छ ।

बजेटका उत्तर कुमार खत्रीलाई योजना, अनुगमन तथा मूल्याङ्कन महाशाखामा सारेर त्यहाँका धनीराम शर्मालाई राजस्व व्यवस्थापन महाशाखा प्रमुख बनाइएको छ ।

भन्सार विभागको महानिर्देशक रहेका शोभाकान्त पौडेललाई सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्रमा लगेर त्यहाँका तालिम प्रमुख राम प्रसाद आचार्यलाई मन्त्रालय ल्याइएको छ । आचार्य र प्रधानमन्त्री कार्यालयबाट अर्थ आएका नारायण सापकोटाको जिम्मेवारी तोकिन बाँकी छ ।

बजेट बनाउने बेलामा अर्थ मन्त्रालयमा धमाधम सरुवा सुरु भएको हो । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले आन्तरिक राजस्व विभागका महानिर्देशक भुपाल बरालसहित विभिन्न मन्त्रालयका कार्यरत पाँचजना सहसचिवको सरुवा गरेको थियो । बराल महानिर्देशकको जिम्मेवारीमा गएको दुई महिना नपुग्दै विभागीय प्रमुखको जिम्मेवारीबाट सरुवा भएका हुन् ।

यसरी अर्थ मन्त्रालयका दुई सहसचिवलाई अन्य निकायमा सरुवा गर्दै मन्त्रिपरिषद् बैठकले तीन सहसचिवलाई अर्थ मन्त्रालयमा भित्र्याएको थियो । अर्थ मन्त्रालय भित्रिने सहसचिवमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहका निरौला, वातावरण विभागका महानिर्देशक तिवारी र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव सापकोटा हुन् ।


क्लिकमान्डु