उन्नती मेला सम्पन्न, हस्तकला प्रवद्र्धन गर्न सम्झौता



नवलपुर । चौधरी फाउण्डेशनले आयोजना गरेको उन्नती कल्चल भिलेज वार्षिक उत्सव मेला सम्पन्न भएको छ ।

मेलामा हस्तकलाका सामाग्री, कृषिजन्य वस्तु, अर्गानीक उत्पादन, मौलिक खाना, चित्रकला, थाकल, वेत वांस, गहुंको छवालीको चित्र, हस्तकला, पस्मिना, ढाका, घरेलु सामाग्री लगायतको ३० स्टलहरु प्रदर्शनीमा राखिएको थियो ।

प्रदर्शनीको अवलोकन गर्दै चौधरी गु्रपका प्रवन्ध निर्देशक राहुल चौधरीले प्रदर्शनीमा राखिएको आकर्षक हस्तकला, घरेलु उत्पादनलाई ब्राण्डिङ्ग र मार्केटिङ्गमा चौधरी फाउण्डेशनले सघाउने प्रतिवद्वता व्यक्त गरेका छन् ।

नेपाल मौलिक हस्तकला, घरेलु उत्पादनको राम्रो बजार भएकाले यसको व्यवसायिक प्रवद्र्धन गर्न उन्नती कल्चरल भिलेजले प्रोत्साहन गर्दै आएको जानकारी गराउँदै चौधरी फाउण्डेशनका निर्देशक सुरवी चौधरीले आगामी दिनमा पनि सघाउने बताइन ।

यसका लागि उन्नती कल्चरल भिलेज र साना तथा घरेलु उद्योग महासंघ ललितपुरवीच हस्तकलाका सामाग्रीहरु उन्नती कल्चरल भिलेजमा प्रदर्शनीका लागि राखिने सम्झौता भएको चौधरीले जानकारी दिइन् ।

सम्झौतामा फाउण्डेशनका निर्देशक चौधरी र महासंघका अध्यक्ष शैलेन्द्र श्रेष्ठले हस्ताक्षर गरेका छन् । उन्नती कल्चरल भिलेजले स्थापना कालदेखि साहित्य, चित्रकला, हस्तकला, मौलिक संस्कृति, मौलिक खाने परिकारलाई प्रोत्साहन गर्दै आएको छ ।
उन्नती मेलाको उद्घाटन गर्दैै गण्डकी प्रदेशका पुर्वसचेतक–सांसद ओमकला गौतमले महिलाहरु आर्थिक रुपमा सक्षम नभएसम्म समग्र मुलुकको विकास सम्भव नहुने बताए ।

नवलपुर उद्योग संघका अध्यक्ष केबी रानाले महिलाहरुको आर्थिक सशक्तिकरणको वर्तमान अवस्था, चुनौत र सम्भावनाका विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यपत्रमा राज्यले ऐन, कानुन र नीति कार्यक्रम ल्याए पनि कार्यान्वयनमा फितलो भएको उल्लेख छ ।

प्रभु बैंकका शाखा प्रवन्धक दिर्घनारायण न्यौपानेले वित्तिय साक्षरता, महिला अभियान्ता रेखा पौडेलले महिला उद्यमशिलतामा सुचनाको पहुंच, कार्यक्रममा साना तथा घरेलु उद्योग महासंघका केन्द्रीय सदस्य विन्दु काफ्ले पोख्रेल, साना तथा घरेलु उद्योग महासंघ ललितपुरका अध्यक्ष शैलेन्द्र श्रेष्ठ, सिद्वार्थ आवासीय मावि कावासोतीका संस्थापक प्रिन्सिपल भोजराज दाहालले आफ्नो व्यवसायिक अनुभव प्रस्तुत गरेका थिए ।

यसैविच महिलामा लगानी, सभ्य तथा समुन्नत समाजको थालनी विषयमा प्यानल छलफल गरेको थियो । प्यानल छलफलका क्रममा महिला उद्यमी मञ्च बागमती प्रदेश अध्यक्ष चन्दना कोईरालाले विगतमा नेपाल कपासमा आत्मानिर्भर तथा निर्यात गरेपनि ३ प्रतिशत पनि उत्पादन हुन नसकेको जानकारी दिइन् ।

नेपालको कपास अन्य देशको भन्दा अव्वल भएको भन्दै उनले नेपालमा कपास खेतीको राम्रो सम्भावना रहेको बताइन । आफुले ८० प्रतिशत दबई अस्ट्रेलिया, अमेरिका निर्यात गर्दै आएको र कच्चा पदार्थ नपाएर विदेशबाट आयात गर्नुपरेको अध्यक्ष कोईरालाको भनाई थियो ।

चितवन महिला उद्यमी मञ्चकी अध्यक्ष तथा सौन्दर्य व्यवसायी सृजना स्वतीले नेपालमा व्युटिपार्लर तालिमलाई प्रभावकारी बनाउन सके राम्रो माग रहेको बताइन । आफुले अहिलेसम्म ७ हजार ८ सय जनालाई तालिम प्रदान गरेको र त्यसमध्ये ५ सय आफैं स्वरोजगार र ४ हजार जनाले विदेशमा गएर राम्रो कमाई गरेको उनले अनुभव सुनाए ।


क्लिकमान्डु