खतिवडाको प्रश्न: सहकारी ठगी छानबिनका लागि संसदीय समिति नबनाइ भाग्ने सरकारले अरु कस्तो आयोग गठन गर्ला ?



काठमाडौं । प्रतिनिधि सभा सदस्य रामहरी खतिवडाले सरकारको इन्जिन नै काम नलाग्ने भइसकेकाले गियर परिवर्तन गरेर काम नहुने टिप्पणी गरेका छन् ।

बुधबार प्रतिनिधि सभा बैठकमा शून्य समयमा बोल्दै प्रतिनिधि सभा सदस्य खतिवडाले सरकारको इन्जिन नै काम नलाग्ने भएको बताए ।

सरकारले गियर परिवर्तन गरे पनि केही काम नहुने उनको भनाइ छ ।

सरकारको न्यूनतम साझा कार्यक्रममा विभिन्न आयोगहरु गठन गर्ने उल्लेख गरिएको भन्दै सहकारी ठगी प्रकरणमा संसदीय समिति गठन गर्न नसक्ने सरकारले कसरी गठन गर्छ भन्नेमा आशंका व्यक्त गरे । जनतालाई नढाट्न उनले सरकारलाई आग्रह गरे ।

‘केही दिन अगाडी प्रधानमन्त्रीज्युले संसदमा बोलेको सुनेँ । सरकारको गियर परिवर्तन गर्नुपर्‍यो भन्नुभयो । एक्सिलेटर नै बिग्रिएको र इन्जिन नै काम नलाग्ने सरकारको गियर परिवर्तनले केही काम गर्दैन भन्ने आभाष हामीलाई भएको ‘ उनले भने, ‘सरकारले हिजो न्यूनतम साझा कार्यक्रम घोषणा गरेको सुनियो । विभिन्न आयोग गठन गर्छौं भनेको पनि त्यहाँ उल्लेख गरेको पाइयो । सहकारी ठगीको एउटा संसदीय संसदीय समिति गठन गर भनेर आवाज उठाउँदा भागेर हिड्ने सरकारले कस्तो आयोग गठन गर्ला त्यो पनि अचम्मको विषय पर्‍यो । जनतालाई ढाट्ने काम नहोस् ।’

त्यस्तै शून्य समयमा बोल्दै प्रतिनिधि सभा सदस्य रुपा बिकले सीआईबी प्रमुख श्याम ज्ञवालीलाई घुस लेनदेनको आरोप लागेको भन्दै उनलाई छानविन गर्न माग गरिन् । ज्ञवालीको जन्ममितिमा समेत विवाद देखिएको भन्दै यसमा पनि छानबिन गर्नुपर्ने उनको भनाइ छ । छानबिन गर्नुपर्ने व्यक्तिलाई नै छानविन गर्ने निकायको प्रमुख बनाइएको भन्दै प्रधानमन्त्रीले यसको जवाफ दिनुपर्ने बताए ।

‘कुनै मुद्दा वा आरोप नलागिकन सरकारी निकायको नेतृत्वमा जान नपाइने नीति बनेको हो ? यदि होइन भने सरकारी निकायहरुमा विवादित र आरोपीहरुलाई किन जिम्मेवारी दिइदैँछ ? हालै सीआईबीका जिम्मेवारी पाएका श्याम ज्ञवाली पनि घुस लेनदेनको आरोप र प्रहरी सेवा प्रवेशमा जन्ममिति विवादित बनेको छ । आरोप र विवाद देखिएपछि छानविन गर्ने हो कि ? छानविन गर्ने निकायकै प्रमुख बनाउने हो ? म प्रधानमन्त्रीबाट जवाफ चाहान्छु, सीआईबी प्रमुखमाथिको आरोप र विवादको निष्पक्ष छानविन हुन्छ कि हुँदैन ? जवाफ चाहिन्छ’ उनले भनिन् ।

प्रतिनिधि सभा सदस्य लेखनाथ दाहालले प्रत्येक प्रदेशमा विपन्न नागरिक अस्पताल खोलेर विपन्न नागरिकलाई निःशुल्क उपचार गर्न बजेट व्यवस्था गर्न सरकारसँग माग गरे ।

त्यस्तै सांसद मीना तामाङले नेपालका किसानलाई वर्गिकरण गरी किसानमैत्री नीति र बजेट बनाउन सरकारको ध्यानाकर्षण गराइन् ।


क्लिकमान्डु