फैलिँदै रैथाने खाद्यसामग्री बिक्री गर्दै आएको कलकल ग्रुपः एकै दिन खोल्यो दुईटा आउटलेट



भक्तपुर । कटुञ्जेमा ६ वर्षदेखि सञ्चालनमा रहेको कलकल ग्रुप प्रालि विस्तार हुँदै गएको छ । कलकल ग्रुपले शनिबार एकैदिन भक्तपुरको निकोसेरा र गठ्ठाघरमा दुईवटा आउटलेट खोलेको छ ।

कटुञ्जेस्थित आफ्नै उद्योगको हाताबाट आउटलेट खोल्न सुरु गरेको कलकलले छोटो समयमै १५ वटा आउटलेट सञ्चालनमा ल्याइसकेको छ ।

शनिबार बिहान निकोसेरास्थित लक्ष्मण सापकोटाले सञ्चालन गरेको ‘मीरा ग्रोसरी स्टोर’मा कलकलले आफ्नो १४ औँ आउटलेट खोलेको हो भने १५ औँ आउटलेट गठ्ठाघरस्थित प्रमोद नेपालको ग्रोसरी स्टोरमा खोलिएको छ । स्थानीय उपभोक्ताको सुविधाका लागि कलकलले यी आउटलेट विस्तार गरेको हो । यी आउटलेटहरुबाट स्थानीय उपभोक्ताले कलकलका सबै खाद्यसामग्रीहरु सजिलैसँग खरिद गर्न सक्नेछन् ।

‘मीरा ग्रोसरी स्टोर’मा १४ औँ आउटलेट उद्घाटन गर्दै कलकल ग्रुप प्रालिका सञ्चालक दीपक न्यौपानेले कलकल उद्योग स्वच्छताको प्रतीक भएको स्पष्ट पार्दै लेक, बेंशी र गाउँपाखामा उत्पादन भएका रैथाने खाद्यसामग्रीलाई संकलन गरेर जस्ताको तस्तै उपभोक्ताका भान्सामा पुर्याउन ६ वर्षदेखि संस्थाले अथक प्रयास गर्दै आएको बताए । शुद्धता कलकलको प्राण भएको भन्दै सञ्चालक न्यौपानेले आम उपभोक्ताको स्वास्थ्यलाई ध्यानमा राखेर कलकल ग्रुप निरन्तर अगाडि बढिरहेको पनि स्पष्ट पारे।

यसैगरी कलकल ग्रुप प्रालिका प्रमुख कार्यकारी अधिकृत समिर नारायण श्रेष्ठले आफूहरुले गुणस्तरीय रैथाने र स्थानीय खाद्य सामगी बेचबिखन गर्दै आएको भन्दै उपभोक्ताको मायाकै कारण संस्था दिनानुदिन फैलिँदै गएको बताए ।

प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले कलकल ग्रुप प्रालिले शुद्ध तोरीको तेल, मिठे फापरको पीठो, मुसुराको दाल, क्वाँटी, मकैको च्याँख्ला, जुम्लाको सिमीको दाल, चिउरीको मह, भुटेको मकै, लोकल आलुचिप्स, खसर, जिम्बु, चना, टिमुरजस्ता रैथाने खाद्यवस्तुहरु उत्पादन र संकलन गरी बेचबिखन गर्दै आएकोसमेत जानकारी दिए ।

साथै, श्रेष्ठले आफ्ना आउटलेटहरुका साथसाथै नेपाली सेनाका क्यान्टिन र बिगमार्टका ७० वटा शाखाबाट कलकलका सामान बिक्री भइरहेको पनि बताए ।संस्थाले आउटलेट खोल्ने क्रमलाई निरन्तरता दिँदै जाने प्रतिबद्धतासमेत प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले व्यक्त गरे ।

उता, गठ्ठाघरस्थित नेपाल स्टोरमा आउटलेट उद्घाटन गर्दै कलकल ग्रुपकी अध्यात्म संवाहक सरस्वती भट्टराईले पैसा तिरेर पनि शुद्ध र गुणस्तरीय खाद्य सामग्री नपाइने अवस्थामा कलकल उद्योग खुलेयता ६ वर्षदेखि उपभोक्ताले लोकल र शुद्ध खाद्य सामग्री उपभोग गर्दै आएको बताइन् । साथै, उनले शुद्ध खानेकुरा खान पाउनु आम उपभोक्ताको अधिकार भएको भन्दै कलकलले यसलाई मनन गर्दै खाद्य सामग्रीहरु उत्पादन र बेचबिखन गर्दै आएको स्पष्ट पारिन् ।

कलकल ग्रुपको १४ औँ र १५ औँ आउटलेट उद्घाटन कार्यक्रममा उपस्थित उपभोक्ताले मिसावटरहित, रैथाने र स्वादिष्ट सामान भएकैले कलकलका खाद्यसामग्रीहरु आफूहरुको पहिलो रोजाइमा पर्दै आएको प्रतिक्रिया दिएका थिए ।


क्लिकमान्डु