कानुन मन्त्रीको प्रश्न: सहकारीमा यतिधेरै समस्या आउँदा नियामक र अभियान के हेरेर बसेको ?



काठमाडौं । कानुन मन्त्री पदम गिरीले सहकारी संस्थामा समस्या बढ्दै गएको भन्दै सरोकारवाला निकायमाथि प्रश्न गरेका छन् ।

सहकारी संस्थाहरुमा लामो समयदेखि समस्या आउँदा नियामक निकाय तथा सरोकारवाला, सहकारी अभियान के हेरर बसेको थियो भन्दै उनले प्रश्न गरे ।

राष्ट्रिय सहकारी महासंघले बिहीबार आयोजना गरेको पहिलो डिजिटल कन्क्लेभमा सहकारीमा देखिएको समस्या आजको नभएको भन्दै सुरुवाती दिनदेखि नै नियामक जिम्मेवार हुन नसकेको आरोप लगाएका हुन् ।

‘सहकारीमा आज आएर समस्या भएको होइन, यो लामो समयदेखि जारी छ, तर अहिले आएर भर्खरै समस्या भएजस्तो गरिएको छ,’ मन्त्री गिरीले भने,’समयमा नियामक निकाय किन जिम्मेवार बनेन, त्यो बेला के हेरेर बसेका थिए ? त्यही समयमा राम्रो नियमन गरेको भए अहिले यस्तो समस्या देखिने थिएन ।’

समस्या सुरु हुनासाथ नहेर्ने र अहिले पहिरो गएपछि के के न भयो जस्तो गर्न नहुने उनको भनाइ छ । ‘त्यो समयमा नियामक निकाय राज्यको तलब भत्ता खाएर बस्ने,’ उनले भने, ‘त्यो बेला किन ध्यान नदिएको ?’

सहकारीमा समस्या आउनुको कारण पढ्न जान्नेले लिएको ऋण नतिर्नु पनि भएको उनले बताए ।
‘सहकारीबाट लिएको पैसा छोरा छोरी पढ्न विदेश पठाउने अनि ऋण नतिर्ने बढेका छन्,’ उनले भने, ‘ऋणीले ऋण नतिर्दा सञ्चालक समस्या परे ।’

मन्त्री गिरीले सहकारी संस्थाको नियमन गर्न छुट्टै संस्था चाहिएको बताए । कार्यक्रममा सहकारी विभागका प्रवक्ता टोलराज उपाध्याय अर्थतन्त्रको महत्त्वपूर्ण क्षेत्र सहकारीमा सूचना प्रविधि आवश्यक रहेको उनको भनाइ छ । पहुच र सुरक्षा, गोपनीयताको विषय महत्त्वपूर्ण हुने बताए ।

सहकारीमा तथ्यांक कमजोर भएको उनले स्वीकारे । उनले २०७३ देखि कोपोमिस लागू गरेको र अझै कार्यान्वयन हुने क्रममा रहेको बताए । एटिएम, एसएमएस लगायत सेवा दिँदा नियामकबाट स्वीकृत लिन सहरकारीहरुलाई उनले आग्रह गरे ।


क्लिकमान्डु