नेपालमा लगानी बढाउन एडिबीलाई अर्थमन्त्री पुनको आग्रह



काठमाडौं । एसियाली विकास बैंक (एडिबी) का कन्ट्री डाइरेक्टर आर्नो कोशवाले अर्थमन्त्री वर्षमान पुनसँग भेटवार्ता गरेका छन् । भेटमा मन्त्री पुनले नेपालमा लगानी बढाउन एडिबीलाई आग्रह गरे ।

मन्त्री पुनले विश्व बैंकसँगको वित्तीय साझेदारीमा एडिबीले निर्माण गर्न चाहेको जलासययुक्त दूधकोशी जलविद्युत आयोजना र माथिल्लो अरुण जलविद्युत आयोजनाको काम थाल्ने वातावरण बनाउने विश्वास व्यक्त गरे ।

मन्त्री पुनले प्रमुख विकास साझेदार एडिबीले नेपालका महत्वपूर्ण विकास आयोजनामा गरेको सहयोग आगामी दिनमा समेत समझदारीपूर्ण सहकार्य हुने विश्वास व्यक्त गरे । आफु ऊर्जामन्त्री भएका बेला अघि बढेको दूधकोशी र माथिल्लो अरुण जलविद्युत आयोजनाको काम सकेसम्म छिटो अघि बढाउने प्रतिबद्धता जनाए ।

२० वर्षपछि विश्व बैंक र एसियाली विकास बैंकले एकै आयोजनामा लगनाी साझेदारी गर्ने गरी काम गर्न थालेकामा मन्त्री पुनले खुसी व्यक्त गरे ।

पुनले नेपालमा विकास बजेट कम खर्च हुने समस्या रहेको भन्दै त्यसमा सुधार गर्न खर्च गर्ने क्षमता र विकास खर्च गर्न सक्ने जनशक्ति विकास गर्ने गरी कार्ययोजना बनाएर काम गर्न लागेको जानकारी दिए ।

मन्त्री पुनले युवा वर्ग लक्षित रोजगारीका कार्यक्रम तथा निजी क्षेत्र र आमजनतामा आशा जगाउने गरी काम गर्ने उल्लेख गरे ।

भेटमा कोशवाले पुनको कार्यकालमा दुई देशबिचको साझेदारी थप मजबुत हुने विश्वास व्यक्त गरे । उनले एडिबीको लगानीमा निर्माण भएर पहिरोका कारण भत्किएको मेलम्ची खानेपानी आयोजनाको सुरुङको पुनः डिजाइनको काम करिब अन्तिम चरणमा पुगेको जानकारी दिए ।


क्लिकमान्डु