हाम्रा मागमा लिखित सहमति नगरे प्रधानमन्त्रीलाई विश्वासको मत दिँदैनौ: एकीकृत समाजवादी



काठमाडौं । सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) ले प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो पार्टीले अघि सारेका मागहरुमा लिखित सहमति जनाएमात्रै प्रधानमन्त्रीलाई विश्वासको मत दिने बताएको छ ।

सोमबार सिंहदरबारमा बसेको पार्टीको संसदीय दलको बैठकले सो निर्णय गरेको पार्टीका प्रमुख सचेतक मेटमणि चौधरीले जानकारी दिए ।

राष्ट्रिय सभा अध्यक्षमा पनि प्रधानमन्त्रीलाई आफ्नो पार्टीले भनेका कुराहरुमामा लिखित सहमति जनाएमात्रै आफ्नो पार्टीले राष्ट्रिय सभा अध्यक्षमा सहयोग गर्ने उनको भनाइ छ । आफ्नो पार्टीले प्रधानमन्त्रीलाई भनेका केही मागहरुको सुनुवाई नभए भोट हालिरहनुपर्ने जरुरी नरहेको उनको भनाइ छ ।

‘भोलि हुने राष्ट्रिय सभा अध्यक्षको निर्वाचन र पर्सी प्रधानमन्त्रीले लिने विश्वासको मत लिने बारेमा निर्णय गरेका छैनौँ । हामीले भनेको केही कुरामा उहाँले सहमति जनाउनुभयो भने त्यो पनि लिखित सहमति गर्नुभयो भने राष्ट्रिय सभामा भोट दिनसक्छौँ । र प्रतिनिधि सभामा उहाँले लिने विश्वासको मतमा पोजिटिभ हुनसक्छौँ,’ उनले भने, ‘ तर उहाँले हाम्रा कुरा सुनुवाइ नगर्ने र हामीले भोट हाल्दिरहनुपर्ने जरुरी ठानेका छैनौँ, ठान्दैनौँ । उहाँमै भर पर्छ । सरकार ढल्ने वा रहने कुरा प्रचण्डमै भर पर्छ । सहमति हुनुभयो भने मत पाउनुहुन्छ, हुनुभएन भने मत पाउनु हुन्न ।’

एकीकृत समाजवादीबाट वर्तमान सरकारमा दुई मन्त्री सहभागी छन् ।


क्लिकमान्डु