अध्यक्षमा उम्मेदवारी दिएपछि प्रचण्डका भाइले भने- म युद्धमा हिँड्दा दाइ हिँडेको छ, तँ हिँड्न हुन्न भन्नुपर्थ्यो नि !



काठमाडौं । सत्तारुढ गठबन्धनका राष्ट्रिय सभा अध्यक्ष उम्मेदवार नारायणप्रसाद दाहालले आफू निर्वाचित भए पार्टीको ह्याङओभर भन्दा माथि उठेर सभा सञ्चालन गर्ने बताएका छन् ।।

सोमबार राष्ट्रिय सभा अध्यक्ष पदका लागि उम्मेदवारी दर्ता गरेपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उम्मेदवार दाहालले आफू निर्वाचित भए पार्टीको ह्याङओभरमा नहुने बताए ।

आफू राष्ट्रपतिबाट मनोनित सदस्य भएकाले सभामा पनि आफू पार्टीगत रुपमा नरहेको उल्लेख गर्दै कानून अनुरुप चल्नुपर्ने कुरामा मानसिक रुपमा तयार भएको उनले बताए ।

राष्ट्रिय सभालाई संविधानमा उल्लेख गरिए अनुरुपको स्तरमा पुर्‍याउन आफ्नो भूमिका हुने उनले बताए ।

दाहालले पार्टीभन्दा अलग भएर भूमिका निर्वाह गर्ने बताए । उनले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको भाइ भएका कारण नभई आफ्नो योगदानअनुसार राष्ट्रिय सभा अध्यक्षको उम्मेदवार भएको बताए ।

आफू २०३६ सालदेखि पार्टीमा लागेको उनको भनाइ छ । ‘अहिले दाजुभाइको नाता पर्ने भएकाले हुन्न भन्ने हो भने म युद्धमा हिँड्दा दाइ हिँडेको छ, तँ हिँड्न हुन्न भन्नुपर्थ्यो नि ! त्यसैले यसमा धेरै भन्नु छैन’ उनले भने ।


क्लिकमान्डु